सुर्खेत । गत मङ्गलवारको जेन–जी आन्दोलनले वीरेन्द्रनगर नगरपालिकाका करिब सबै वडालाई आगलागी र तोडफोडको खतरनाक घेरामा पारेपछि यहाँको दैनिक जीवन अस्तव्यस्त बनेको छ । रातभरि डढेका नगरपालिका र वडाका भवन, खरानीमा परिणत जिन्सी सामग्री र फुटेका पर्खालहरू अझै पनि आन्दोलनको भयावहता झल्काइरहेका छन् । सोमवार शान्त रूपमा भइरहेको आन्दोलन मङ्गलवार दिउँसोदेखि उग्र बनेको थियो ।
मङ्गलवार १२ बजेदेखि सुरु भएको प्रदर्शन राति अबेरसम्म चल्यो । आन्दोलनकारीहरू छुट्टाछुट्टै समूहमा विभाजन भई राजनीतिक दलका पार्टी कार्यालय, सरकारी कार्यालय र नेताहरूको घर निसानामा बनाए । आन्दोलनकारीहरूले दिउँसोदेखि राति अबेरसम्म वीरेन्द्रनगरका १२ वडामा पुगे ।आगजनीबाट वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १, ५, ७, ८, ९, १०,११ र १२ वडा कार्यालय आंशिक रूपमा क्षति पुगेका छन् भने २, ३, ४ र ६ नम्बर वडा कार्यालय पूर्ण रूपमा जलेर खरानी भएको छन् ।
आगलागीबाट महत्त्वपूर्ण कागजात तथा सिस्टमहरू जलेको वडाध्यक्षहरू बताउँछन् । भवन संरचनामा समेत आगोका कारण क्षतविक्षत् भएको छ । आगजनीका कारण वडा कार्यालयहरूमा रहेका साना ठुला गरी दर्जनौँ सवारी साधनहरूमा क्षति पुगेको छ । वीरेन्द्रनगर–२ का वडाध्यक्ष गज बहादुर बुढाले आफ्नो वडामा भएका सम्पूर्ण सामाग्रीहरू जलेर नष्ट भएको बताए । उनले कार्यालयमा भएका जिन्सी सामाग्रीहरू जलेर पूर्ण रूपमा खरानी बनेको बताए । साथै उनले केही सामान जलेर खरानी बनेको त केही लुटपाट भएको आरोप लगाए ।
नगरपालिका पनि निसानामा
आन्दोलनकारीहरूले वडा मात्रै होइन नगरपालिका समेत आगजनी र तोडफोड गर्न भ्याए । आन्दोलनकारीको भीडले नगरपालिकाको मुख्य गेट तोड्दै भित्र पस्दा स्थानीयको मुटु ढुकढुकी बढ्यो । ठुलो भिडले नगरपालिका पुगेर जिन्सी लगायतका कार्यालयको एक भवनमा आगलागी गरे । उनीहरूले नगर प्रहरी, जिल्ला प्रहरी र सशस्त्र प्रहरी बल अगाडी नै नगरपालिकाको गेट तोडफोड गरेर आगजनी गरेका थिए । उनीहरूले आगजनी मात्रै होइन नगरपालिकाका सामाग्रीहरू समेत लुटपाट गरे ।
नगरपालिकाका सूचना अधिकारी टंक प्रकाश लामिछानेले दुई वटा स्कुटर, एक मोटरसाइकल र करिब तीन लाखको डिजिटल बोर्डसहित धेरै सामग्री ध्वस्त बनाएको बताए । ‘एउटा संस्थाबाट सहयोग मिलेको डिजिटल बोर्ड थियो । त्यो बोर्ड उनीहरूले ढुङ्गाले हानेर क्षति पुराए ।,’ उनले भने, ‘कार्यालयमा राखेका स्कुटर र मोटरसाइकल समेत आगजनी गरे ।,’ सूचना अधिकारी लामिछानेले पालिकामा राखेका सोलाहरूसमेत उनीहरूले लुटपाट गरेको बताए । ‘कार्यालय दमकल र एम्बुलेन्सका केही सिसाहरू फुटेका छन् ।,’
उनले भने, ‘गेट अगाडिको पर्खाल भत्काएका छन् । जिन्सी सामान जलाएका छन् ।,’ यस्तै, नगरपालिकाका एक कर्मचारीले सवारी साधनसँगै अन्य जिन्सी सामाग्रीहरू जलेर नष्ट भएको बताए । ‘हाम्रा स्कुटी र मोटरसाइकल जलेर ध्वस्त भए। कार्यालय अगाडिको डिजिटल बोर्ड पनि तोडफोड भयो ।,’
ती कर्मचारीले भने, ‘अहिले कति क्षति भएको छ यकिन विवरण अझै तयार भएको छैन । मुचुल्काको काम चलिरहेको छ । नगरपालिकामा आगलागी हुँदाको पीडा कसलाई सुनाउनु ?,’ नागरिकहरूलाई सेवा प्रवाह गर्ने नगरपालिका र वडाहरू आफै ध्वस्त भएको हुँदा निकै पीडा भएको ती कर्मचारीले बताए ।
आजदेखि सेवा सुचारु गर्ने तयारी
आन्दोलनका क्रममा भएको आगजनीमा विभिन्न जिन्सी तथा सवारी साधनमा पूर्ण रूपमा ध्वस्त भएपछि नगरपालिकाको सम्पूर्ण सेवा तत्काल ठप्प भएको थियो । जसबाट जन्म–मृत्यु दर्ता, नागरिकता सिफारिस, कर सङ्कलन जस्ता दैनिक काम रोकिँदा नागरिकहरू अलपत्र परे । ठप्प भएको नगरपालिकाको सेवा प्रवाह आजदेखि सुचारु गर्ने तयारी रहेको छ । नागरिकहरूलाई अत्यावश्यक सेवाबाट वञ्चित हुन नदिन नगरपालिकाले आजदेखि काम थाल्ने तयारी गरेको सूचना अधिकारी लामिछानेले बताए ।
जेन–जी आन्दोलनका क्रममा भएको घटनाको क्षतिलाई आकस्मिक विपत्का रूपमा लिएर व्यवस्थापनमा अग्रसर भएको उनले बताए । ‘नगरपालिकामा आगजनी र तोडफोड भएको छ । हामीले आजदेखि सेवा सुरु गर्ने तयारी गरेका छौ ।,’ उनले भने, ‘वडाहरूमा भने धेरै क्षति भएको छ सेवा सुचारु हुन निकै समय लाग्ने देखिन्छ ।,’ यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।