सुर्खेत । आगामी दसैँ पर्वका लागि मुस्ताङ हुँदै अहिलेसम्म १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्लामा पठाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट ल्याइएका च्याङ्ग्रासहित मुस्ताङकै किसानका करिब ६ हजार ६ सय भेडाच्याङ्ग्रा बाहिर पठाइएको हो ।
पशु चिकित्सक डा. लालमणि अर्यालका अनुसार यस वर्ष मुस्ताङबाट झन्डै १ हजार थप च्याङ्ग्रा बाहिर जाने अनुमान छ । गत वर्षको तुलनामा करिब २० प्रतिशत बढी निर्यात भएको छ । कास्कीका व्यापारी पूर्णबहादुर रानाभाटले उपल्लो मुस्ताङको गोठमै पुगेर २३५ वटा रोज्जा र ‘च्यालु’ च्याङ्ग्रा खरिद गरेको बताए। हाल रोज्जाको मूल्य प्रति गोटा ३५ हजार र च्यालुको १३ हजार रुपैयाँ छ भने पोखरा पुर्याउँदा क्रमशः ४२ हजार र १८ हजार रुपैयाँमा बिक्री हुने अनुमान छ।
दसैँमा स्वास्थ्य सुरक्षाका लागि मुस्ताङमा खरिद भएका सबै च्याङ्ग्राको खोरमै भेटेरिनरी परीक्षण गरिएको छ । परीक्षणको प्रमाणपत्र ७२ घण्टासम्म मान्य रहने छ । मुस्ताङमा यस वर्ष करिब १०० भन्दा बढी व्यापारी सक्रिय छन्। यहाँको उच्च लेक र पाटनमा पालन हुने भेडाच्याङ्ग्राको मासु स्वादिलो र पोषिलो भएकाले दसैँको बेला सहर बजारमा यसको ठूलो माग रहने गरेको छ।