सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् । उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।
शनिवार राष्ट्रिय युवा सङ्घ नेपाल तथा अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले ‘चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दाबी गर्दा जेन-जी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो,’ भने । उनले राष्ट्रहितको पक्षमा उभिनु अपराध नभई गौरवको विषय भएको उल्लेख गर्दै युवा पुस्ताले यस विषयलाई निरन्तर उठाई रहनुपर्नेमा जोड दिए ।
‘देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन,’ कँडेलको भनाइ थियो । मुख्यमन्त्री कँडेलले वर्तमान अवस्थामा जेन-जी पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले युवा सङ्गठन र विद्यार्थी सङ्गठनलाई मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गर्दै भने, ‘हामी निर्माण गर्ने पुस्ता हौँ, दर्शक बन्ने होइनौँ । भ्रष्टाचारको विरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने, र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ ।’ उनले गुटबन्दी, विभाजन र स्वार्थी राजनीति गर्दा पार्टी मात्र कमजोर नभई राष्ट्रसमेत कमजोर हुने चेतावनी दिए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष सुर्खेत जिल्ला अध्यक्ष र युवाहरूको सहभागी रहेको थियो ।