जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारमा सोमबार घटस्थापनाको अवसर पारेर विधिपूर्वक जमरा राखिएको छ । नेपाल पञ्चांग निर्णायक समितिले तोकेको साइतअनुसार सोमवार बिहान ९ बजेर १३ मिनेटमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजुप्रसाद पौडेलसहित स्थानीय सरोकारवालाहरूको उपस्थितिमा दरबारमा जमरा राखिएको हो ।
भूकम्पका कारण जीर्ण बनेको दरबारमै परम्परा अनुसार पञ्चेबाजासहित जमरा राखिएको प्रजिअ पौडेलले जानकारी दिए । तत्कालीन जाजरकोटी राजादेखि निरन्तर हुँदै आएको परम्परा अनुसार दशैँमा दरबारमा जमरा राख्ने र विजया दशमीको दिन दरबारमै पुगी टीका–जमरा लगाउने चलन रहिआएको जाजरकोट सम्पदा संरक्षण मञ्चका अध्यक्ष जनक केसीले बताए ।
जिल्लामा रहेका विशिष्ट व्यक्तिहरूलाई टीका–जमरा वितरण गर्न दरबारमा बर्सेनि यसरी जमरा रोप्ने गरिएको छ । घरघरमा परिवारको संकल्पसहित जमरा राखिने भए पनि जाजरकोट दरबारमा भने जिल्लावासीकै संकल्पका आधारमा जमरा राख्ने परम्परा रहेको छ । सन् १९९० को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको दरबारलाई २०५० सालको भूकम्पले पुनः क्षति पु¥याएको थियो।
त्यसपछि पुरानै शैलीमा पुनर्निर्माण गरिए पनि २०८० कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले दरबारलाई फेरि पूर्ण क्षति पु¥याएको छ । विसं १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहको पालामा निर्माण भएको यो दरबारलाई नेपाल सरकारले केही वर्षअघि देशका सयवटा प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा समेटेको छ ।