जेनजी आन्दोलनका घाइते दीपकको पीडा : एक महिनापछि नाकबाट निकालियो प्रहरीको गोली

जेनजीहरु समेत भेट्न नआएको गुनासो

कुलेन्द्र शाही
कुलेन्द्र शाही २५ आश्विन २०८२, शनिबार १०:३४
आन्दाेलनमा घाइते भएका २८ वर्षीय दीपक शाही

कुलेन्द्र शाही, सुर्खेत । एक महिना अगाडि (गत भदौ २३ गते) भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले काठमाडौँसहित देशैभर आन्दोलन ग¥यो । देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा सरकारले दमन गर्दा प्रहरीको गोलीले २३ गते १९ युवाको मृत्यु भयो । युवाको मृत्यु भएपछि भोलिपल्ट भदौ २४ गते आन्दोलन झन् चर्कियो । उक्त दिन कर्णाली प्रदेशमा पनि जेनजी प्रदर्शनले उग्र रूप लियो ।

प्रहरीले आन्दोलन नियन्त्रणमा लिन गोली चलायो । गोली लागेर प्रदेशभर १३ जना घाइते भए । जसमा सुर्खेत बराहताल गाउँपालिका–८ का २८ वर्षीय दीपक शाही पनि त्यसको चपेटामा परे । भीडमा प्रहरीको गोली उनको नाकमा लाग्यो र त्यही घाउसँगै सुरु भयो उनको महिनौँ लामो पीडादायी यात्रा । वीरेन्द्रनगर–८ स्थित धमलाचोक नजिकै प्रहरीको गोलीले घाइते भएका उनलाई तत्कालै कालिन्चोकस्थित एक स्थानीय मेडिकलमा लगिएको थियो ।

त्यहाँ सामान्य उपचार गरिएको भए पनि घाउ झनै दुख्दै गयो । त्यसपछि उनले एरीचोक, राना, होप पोलिक्लिनिक लगायतका मेडिकलमा उपचार गराए तर सान्त्वना मात्र पाए । चिकित्सकहरूले नाकमा गोली नभएको बताएपछि उनले पनि केही समयका लागि ढुक्क भएका थिए । तर दिनदिनै घाउ फुल्दै र पोल्दै गयो । दसैँ नजिकिँदै गर्दा उनी मनाङ, मुस्ताङ जस्ता ठाउँमा घुम्न गए तर पीडा घटेन । गाउँमा पुगेपछि उनले घरेलु उपचारको प्रयास गरे, तर त्यसले पनि काम गरेन ।

दसैँ मनाएर उनी पुनः वीरेन्द्रनगर फर्किए र जेनजीका अभियन्ताहरूसँग सम्पर्क गर्ने प्रयास गरे । असोज २३ गते मात्रै उनले आन्दोलनमा घाइते भएकालाई प्रदेश अस्पतालमा निःशुल्क उपचार हुने जानकारी पाए । त्यसपछि उनी अस्पताल पुगे, तर त्यहाँ उनलाई ‘अब एक महिना भइसक्यो, आन्दोलनमा घाइते भएको हो प्रमाण कहाँ छरु’ भन्दै उपचार गर्न इन्कार गरियो । दीपकले जेनजीका अभियन्ताहरूसँग फोनमा सम्पर्क गर्ने प्रयास गरे तर कसैले उठाएनन् ।

‘जेनजीका अभियन्ताहरूका कुरा धेरै सुनियो, काम केही देखिएन,’ उनी भन्छन्, ‘म घाइते भएको एक महिना भयो, कसैले भेट्न पनि आएन । निःशुल्क उपचार हुन्छ भने तर मेरो व्यक्तिगत रकम खर्च भयो । खर्चको हिसाब छैन ।,’ निराशा बोकेर उनले बाँगेसिमलस्थित बोहरा मेडिकलको ढोका ढटाए । त्यहाँ चिकित्सकले एक्स–रे गरेर उनको नाकभित्र गोली रहेको पुष्टि गरे । त्यसपछि असोज २४ गते आन्दोलनको ठिक एक महिना पुगेको दिन, चिकित्सकले उनको नाकबाट प्रहरीको गोली निकाल्न सफल भए ।

 

दीपककाे नाकबाट निकालिएकाे गाेली

दीपक भन्छन्, ‘यो एक महिनाको सङ्घर्ष म कसरी बिर्सूँ रु’ उनी अहिले पनि उपचारमा छन् । दैनिक औषधि, बसाइ र खर्चको हिसाब उनले गन्न छोडेका छन् । यता, कर्णाली प्रदेश संयोजक सुप्रिया शाहीले आफूले प्रत्यक्ष सम्पर्क नगरे पनि अरू अभियन्तामार्फत दीपकको अवस्था बुझ्ने प्रयास गरेको बताइन् । ‘जेनजीले केही नगरेको होइन, गरेको हो,’ उनले भनिन्, ‘मैले म्यासेन्जरमार्फत कुरा पनि गरेको थिएँ र अरूलाई सहयोग गर्न लगाएको थिएँ ।,’

यस्तै, कर्णालीका जेनजी अभियन्ता प्रकाश खड्काले आफूले बिहीबार दीपकलाई भेटेर प्रदेश अस्पतालमा उपचारका लागि सल्लाह र अस्पताल निर्देशकसँग समन्वय गराएको जानकारी दिए । ‘हामीले सरकारसँग घाइतेहरूको उपचार खर्च उपलब्ध गराउने पहल पनि गरिरहेका छौँ,’ उनले भने । एक महिनापछि दीपकको नाकबाट गोली त निकालियो, तर उनको मनको घाउ अझै बाँकी छ । ‘परिवर्तनको कुरा गर्नेहरूले पनि घाइतेको पीडा बुझेनन्,’ घाइते शाही भन्छन् । ‘म आन्दोलनमा सहभागी भएँ, तर अहिले मलाई मेरो पीडाको बोझ पनि एक्लैले बोक्नु परेको छ ।,’

Next Post

राउटे बस्तीमा मदिरा सेवन गरी पसेका युवक पक्राउ

२५ आश्विन २०८२, शनिबार १०:३४
सुर्खेत । मदिरा सेवन गरी राउटे बस्तीमा पसेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–५, नेटा निवासी राजु रजाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रजाली शुक्रबार राति करिब १२ बजे चौरासे नजिकैको जंगलमा रहेको राउटे बस्तीमा प्रवेश गरेका थिए । मध्यराति मदिरा सेवन […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031