सुर्खेत । मदिरा सेवन गरी राउटे बस्तीमा पसेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका–५, नेटा निवासी राजु रजाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार रजाली शुक्रबार राति करिब १२ बजे चौरासे नजिकैको जंगलमा रहेको राउटे बस्तीमा प्रवेश गरेका थिए ।
मध्यराति मदिरा सेवन गरी बस्तीमा पुगेका उनले राउटे महिलाहरू एक्लै बसेको छाप्रोमा पसेपछि राउटे युवाहरूले उनलाई नियन्त्रणमा लिएका थिए । शनिबार बिहान प्रहरी पुगेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी शंकास्पद रूपमा राउटे बस्तीमा प्रवेश गरेको कारण घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।