२०८२ मंसिर १९ , शुक्रबार

विद्यालयमा भिडिओ खिचेकाे भन्दै रास्वपा शिवालयका सभापतिको मोबाइल खोसिएपछि…..



जाजरकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवालय गाउँपालिकाका सभापति वीरेन्द्र कठायतको मोबाइल एक विद्यालयले खोसेको छ। शिवालय गाउँपालिका–६ स्थित खड्कदेवी माध्यमिक विद्यालयमा पुगेर पढाइ नभएको र शिक्षक उपस्थित नभएको भन्दै भिडिओ खिचेपछि विद्यालयले उनको मोबाइल खाेसेर नियन्त्रणमा लिएको हो। सभापति कठायतले विद्यालयले आफ्नो मोबाइल खोसेको र आफूमाथि धकेलमुक्केलसमेत भएको आरोप लगाएका छन्।

उनले भने, ‘म शिवालयको जिम्मेवार नागरिक भएर विद्यालयमा के भइरहेको छ भनेर बुझ्न गएको थिएँ, तर विद्यालयका शिक्षकहरूले मेरो मोबाइल खोसे र दुर्व्यवहार गरे।’ यता, विद्यालयका प्रधानाध्यापक बीरबहादुर शाहीले मोबाइल नियन्त्रणमा लिएको कुरा स्वीकार गरेका छन्। उनले राजनीतिमा संलग्न व्यक्ति बिना अनुमति विद्यालय परिसरमा प्रवेश गरेर मनपरी भिडिओ खिचेकाले मोबाइल नियन्त्रणमा लिएकाे बताए ।

‘उनी राजनीतिमा आवद्ध व्यक्ति हुन, विद्यालयमा आएर विद्यार्थीका बीचमा गलत सन्देश फैलाइरहनु भएको थियो,’ प्रधानाध्यापक शाहीले भने, ‘हामीले सम्झाइ बुझाइ गरेर मोबाइल सुरक्षित राखेका छौँ, भोलि पालिका केन्द्रमा गएर फिर्ता दिनेछौँ।,’ उनले विद्यालयका शिक्षकहरूले त्यस समयमा कक्षामा पढाइरहेकाे तर कठायतले गलत बुझाइमा भिडिओ खिचेको बताए।

प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार