शेरबहादुर थापा, सुर्खेत । नेकपा एमाले सुर्खेतले असुलि धन्दा अपनाएको एमालेकै कार्यकर्ताले आरोप लगाएका छन् । गत शनिबार एमालेको ११ औंँ केन्द्रीय महाधिवेशनका सुर्खेतमा महाधिवेशन चयन प्रक्रिया गर्ने भन्दै धेरै जनाबाट मनोनयन दर्ताका नाममा रकम लिइएको पाइएको हो । सो रकम लिएर निर्वाचन भएको न त दस्तुर नै फिर्ता गरिएको भन्दै असुली धन्दा चलाएको एमाले कार्यकर्ताले नै यस्तो आरोप लगाएका छन् । नेकपा एमाले सुर्खेतले खुला कलष्टरका लागि फाराम शूल्क १०० र आवेदन शूल्क सात सय तोकेको थियो भने यूवा, महिला र दलित कलष्टरकालागि पाँच सय शूल्क र एक सय फाराम शुल्क तोकेको थियो ।
उक्त तोकिएको शूल्क अनुसार निर्वाचन क्षेत्र नम्बर दुईमा खुल्लातर्फ २६ जनाले मनोनयन दर्ता गराएका थिए । सो मनोनयन दर्ता गराएवापत २० हजार ८ सय रुपैंया निर्वाचन आयोगले संकलन गरेको थियो । जबकी यो पदमा छानिनुपर्ने संख्या ५ थियो । यस्तै, यूवातर्फ २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उक्त मनोनयन दर्ताका लागि मात्रै आयोगले १२ हजार ६ सय शूल्क बुझेको थियो । यसमा एक जना यूवालाई मात्रै पछि मनोनयन गरिएको आयोगले घोषणा ग¥यो ।
बाँकीको रकम भने अहिलेसम्म फिर्ता गरिएको छैन । नौ जना महिलाले महाधिवेशन प्रतिनिधिका लागि भन्दै मनोनयन दर्ता गरेका थिए । तर त्यसमध्ये ३ जनालाई मात्रै आयोगले सर्वसम्मत छनौट भएको जनाएको छ । यो कलष्टरबाट आयोगले ५ हजार ४ सय कमाएको एमाले कार्यकर्ताको आरोप छ । जिल्ला भरिबाट आठ जना दलित कार्यकर्ताले दलित कोटाबाट मनोनयन दर्ता गर्दा ४ हजार ८ सय रुपैंया आयोगलाई बुझाएका थिए । यो कलष्टरबाट ४ जना छनौट भएका छन् । यो निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत नन्द भण्डारी रहेका थिए ।
उनीसँग यसबारेमा कुरा गर्दा आफूहरुले पारिश्रमिक नलिएको बताए । ‘जति रकम संकलन भएको थियो, त्यो सबै एमालेकै खातामा गयो । हामीले निर्वाचन परिणाम घोषणा गर्दा कसैको पनि दावी विरोध आएको थिएन ।’ उनले भने, ‘मनोनयन पत्र दर्ता गरेकाहरुको रकम फिर्ता हुने वा नहुने भन्ने कुरा भने सम्वन्धित दलको विधान अनुसार होला ।’ यस्तै, निर्वाचन क्षेत्र नम्बर एकबाट खुल्लातर्फ १९ जनाले मनोनयन दर्ता गराएका थिए । उक्त मनोनयन दर्ता गराएवापत १५ हजार २ सय रुपैंया निर्वाचन आयोगले संकलन गरेको थियो ।
जबकी यो पदमा छानिनुपर्ने संख्या ४ थियो । यस्तै, यूवातर्फ १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उक्त मनोनयन दर्ताका लागि मात्रै आयोगले ७ हजार २ सय शूल्क बुझेको थियो । यसमा एक जना यूवालाई मात्रै पछि मनोनयन गरिएको आयोगले जनाएको छ । बाँकीको रकम भने अहिलेसम्म फिर्ता गरेको छैन । नौ जना महिलाले महाधिवेशन प्रतिनिधिका लागि भन्दै मनोनयन दर्ता गरेका थिए तर त्यसमध्ये दुई जनालाई मात्रै आयोगले सर्वसम्मत छनौट भएको बतायो । यो कलष्टरबाट आयोगले ५ हजार ४ सय कमाएको एमाले कार्यकर्ताको आरोप छ ।
जिल्ला भरिबाट आठ जना दलित कार्यकर्ताले दलित कोटाबाट मनोनयन दर्ता गर्दा ४ हजार ८ सय रुपैंया आयोगलाई बुझाएका थिए । यो कलष्टरबाट ४ जना छनौट भए । यो क्षेत्रका निर्वाचन अधिकृत रामबाबु विसि रहेका थिए । ‘खासमा पालिका स्तरबाटै महाधिवशेन प्रतिनिधि छनौट गरी टुंगो लगाउने सहमति भएको थियो । तर पार्टी नेताहरुले मनोमानी, आफ्ना नजिककालाई अवसर दिनुभयो । पार्टीको निर्वाचनको बेला घात गर्नेलाई अवसर दिनुभयो ।’
यूवा संघको जिल्ला सचिव, एवम हाल सम्मेलन आयोजक कमिटि सदस्य रहेका धनराज आचार्यले यूवा कलष्टरकालागि मनोनयन दर्ता समेत गरेका उनले भने, ‘अब पैसा फिर्ता भन्दा पनि हाम्रो उम्मेदवारी नै कायम छ भन्ने हो । त्यहाँ कार्यकर्ताको भावना माथि खेलवाड भएको हो । जुन नियतले प्रतिनिधि चयन गरिएको छ, त्यो गलत छ । पार्टी अहिले संकटपूर्ण अवस्थामा रहेको बेला सबैलाई मिलाएर लैजानुपथ्र्यो भन्ने हो । हामीले त चुनाव नै गरौँ भनेका हौं तर उहाँहरुले मान्नु भएन ।’
यही विषयका कारण निर्वाचन क्षेत्र संयोजक ठम्मर विष्टले निर्णयमा नोट अफ डिसेन्ट लेखेको उनको दाबी छ । यता, नेकपा एमाले सुर्खेतका सचिव डम्मर तिवारीले आफुहरुले रकम उठाएको स्वीकार गर्दै सो रकम त्यति ठुलो नभएको बताए । उनले निर्वाचन कमिटीले रकम उठाएर पार्टी कार्यालयमा रसिद जम्मा गरेको बताए । ‘पार्टी कार्यालय ध्वस्त भएको छ ।
हामीले पार्टी कार्यालय निर्माण गर्ने भन्दै रकम लिएका हौ । सामान्य रकम हो, लिएको रकम फिर्ता नगर्ने निर्णय गरेका छौ ।’ उनले भने, ‘त्यो उहाँहरुको सो इच्छाले दिएको रकम हो ।,’ मनोनयन दर्ता गर्नेहरुबाट उठाएको रकमले पार्टी कार्यालय बन्छ भन्ने प्रश्नमा उनले रकम संकलन गरेर पार्टी कार्यालय निर्माण गर्ने बताए ।
