२०८३ वैशाख ३ , बिहीबार

कुलमानप्रति प्रचण्डको कडा टिप्पणी, ‘जुन थालमा खायो त्यहीँ छेद पार्‍यो’



वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्ड/ तस्बिर : कुलेन्द्र शाही

सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङप्रति कडा टिप्पणी गरेका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले कुलमानलाई जुन थालमा खायो, त्यसैलाई छेद पारिरहेको आरोप लगाएका हुन्।

प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा आफूले नै कुलमानलाई टिपेर नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएको दाबी गर्दै गुन बिर्सेर अहिले लाज मर्नु… म योभन्दा बढी भन्दिनँ, बिचरा भन्दै कटाक्ष गरे। साथै, कुलमानको बुद्धि फिरोस्, भन्ने टिप्पणीसमेत गरे।सभामा उनले पछिल्लो समय हजारौँ जेन–जी (Gen-Z) युवाहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरिरहेको उल्लेख गर्दै, अभिभावकका रूपमा माधव नेपाल र आफू (प्रचण्ड) रहेको विश्वासका कारण युवाहरू आकर्षित भएको बताए।

केही दिनअघि अन्तरिम सरकारसँग जेन–जीहरूले गरेको सम्झौताका अधिकांश बुँदाहरू मिलेकाले केही शक्तिहरू आत्तिएको उनको भनाइ थियो। ‘जेन–जी कम्युनिष्टतिर जाने भए भनेर कोही आत्तिएका छन्,’ उनले भने। प्रचण्डले जनतासँग आत्मसाथ गर्दै अघि बढ्दा जनताको प्रतिक्रिया सकारात्मक आएको र त्यसले आफूहरू उत्साहित भएको बताए। सभामा देखिएको जनउपस्थितिले नेकपाले नयाँ इतिहास रच्ने सन्देश दिएको उनको दाबी थियो।

संयोजक प्रचण्डले धनगढीदेखि जनकपुर हुँदै कर्णालीसम्म सञ्चालन भइरहेका एकता सन्देश सभाले अन्तर्राष्ट्रिय कूटनीतिज्ञहरूको ध्यानसमेत तानेको दाबी गरे। साथै, नेकपा एमालेका केही शीर्ष नेतृत्वहरू पनि सबै कम्युनिष्ट शक्तिहरू एक हुनुपर्छ भन्ने धारणामा रहेको उल्लेख गरे।

जेन–जी आन्दोलनले राजनीतिक दलहरूलाई सच्चिने अवसर दिएको बताउँदै उनले जेन–जीका मागहरू सही रहेको र तत्कालीन सरकारको भण्डाफोर समयमै आफूले नै गरेको दाबीसमेत गरे।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार