२०८३ वैशाख ३ , बिहीबार

रास्वपाले कर्णालीलाई उपेक्षा गरेको गुनासो : कोट हेरेर उम्मेदवार सिफारिस गरेको कार्यकर्ताको आरोप



सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर कर्णाली प्रदेशमा असन्तुष्टि बढ्दै गएको छ । पार्टीले पेश गरेको बन्दसूचीमा कर्णाली प्रदेशको सहभागिता अत्यन्त न्यून देखिएपछि यहाँका नेता तथा कार्यकर्ताहरू खुलेरै असन्तुष्टि व्यक्त गर्न थालेका हुन् । रास्वपाले बुझाएको ११० जनाको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कर्णाली प्रदेशबाट जम्मा ४ जनाको मात्र नाम समावेश गरिएको छ ।

तीमध्ये हुम्लाबाट आदिवासी जनजाति क्लस्टरअन्तर्गत टासी लाजोम, सुर्खेतबाट दलित क्लस्टरअन्तर्गत किशोर गन्धर्व र स्मृति सेन्चुरी तथा रुकुमबाट खस आर्य क्लस्टरअन्तर्गत प्रेम बोहोराको नाम समावेश छ । कर्णालीका १० जिल्लामध्ये तीन जिल्लाबाट मात्रै चार जनाको नाम सिफारिस हुनु आफैंमा असन्तुलित भएको भन्दै व्यापक टिप्पणी सुरु भएको छ । पार्टीभित्रैबाट कर्णालीलाई योजनाबद्ध रूपमा उपेक्षा गरिएको आरोप कार्यकर्ताहरुले लगाउन थालेका छन् ।

रास्वपा कर्णालीका एक नेताले कर्णाली प्रदेश भौगोलिक, सामाजिक र विकासका हिसाबले पछाडि पारिँदै आएको क्षेत्र भएको उल्लेख गर्दै आफ्नो पार्टीले समेत उपेक्षामा पारेको बताए । समानुपातिक प्रणालीकै मर्मअनुसार यहाँलाई प्राथमिकतामा राख्नुपर्नेमा पार्टीले त्यो नगरेको गुनासो गरे । उनले पार्टी सभापति रवि लामिछानेको निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाबाट मात्रै २१ जना उम्मेदवार समानुपातिक सूचीमा पर्दा कर्णालीमा ४ र सुधुरपश्चिमबाट २ जनाको मात्रै नाम समावेश हुनु दुःखद भएको बताए ।

विशेषगरी खस आर्य समूहमा परेका उम्मेदवारमध्ये करिब ५० प्रतिशत चितवन जिल्लाकै रहेका छन् । यसले पार्टीभित्र क्षेत्रीय सन्तुलन कायम गर्न नसकेको र केन्द्रमुखी सोच हावी भएको देखाएको कार्यकर्ताहरु बताउँछन् । उनीहरुले समानुपातिक प्रणालीलाई व्यक्तिविशेष र सीमित भूगोलको हितमा प्रयोग गरिएको आरोप लगाएका छन् ।

पार्टीले भोट भन्दा कोट हेरेको कार्यकर्ताको आरोप
यता, रास्वपा कर्णाली प्रदेशका एक पदाधिकारीले पार्टीले जनमतभन्दा बाह्य देखावट र पहुँचलाई प्राथमिकता दिएको आरोप लगाए । उनले आफ्नो पार्टीले भोटभन्दा कोट हेरेर सिफारिस गरेको आरोप लगाएका हुन् । उनले उम्मेदवारको सिफारिसलाई लिएर आफू मात्र नभई यहाँका धेरै नेता तथा कार्यकर्ता असन्तुष्ट बनेको दाबी गरे । ‘हाम्रो पार्टीले भोट हेरेन जसले कालो कोट लगाएको छ उसैलाई सिफारिस गर्यो । यसमा हाम्रो आपत्ति छ ।’ उनले  खबरदृष्टिसंग भने ।

उम्मेदवार छनोट प्रक्रिया पारदर्शी नभएको र मेहनत गर्ने कार्यकर्ताको मूल्याङ्कन नगरिएको उनको गुनासो छ। उनका अनुसार आफू मात्र नभई कर्णालीभरिका धेरै नेता तथा कार्यकर्ताहरू यो सूचीप्रति असन्तुष्ट छन् । ‘यहाँका धेरै साथीहरू निराश हुनुहुन्छ। कतिपय त अब अन्य राजनीतिक पार्टीतर्फ जाने विषयमा समेत छलफल गर्न थाल्नुभएको छ,’ उनले भने । यसले पार्टी संगठनमै असर पर्ने खतरा छ ।,’

सूची संशोधन हुने दाबी
यस विषयमा रास्वपा कर्णाली प्रदेशका प्रवक्ता हरि प्रसाद अधिकारीले अहिले सार्वजनिक भएको सूची प्रारम्भिक मात्र भएको स्पष्ट पारे । ‘यो त भर्खर सामान्य सूची मात्रै आएको हो । अझै समय छ, सूची संशोधन हुन्छ,’ उनले भने ।,’ प्रवक्ता अधिकारीका अनुसार पार्टीले सबै प्रदेश र जिल्लालाई न्याय हुने गरी समानुपातिक उम्मेदवारको सूची परिमार्जन गर्ने तयारी गरिरहेको छ । ‘हाम्रो पार्टीले सातै प्रदेश र ७७ वटै जिल्लालाई समेट्ने गरी समावेशी र सन्तुलित सूची बनाउँछ,’ उनले भने ।

यता रास्वपा पार्टीले पनि एक विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूची सच्याउने बताएको छ । समानुपातिकतर्फ आयोगमा पेस गरेको बन्दसूची सच्याउने रास्वपाले जनाएको हो । समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाबाट प्राप्त भएका प्रतिक्रिया र सुझावप्रति पार्टीको ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ ।

‘समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेस भएको हो’, पार्टी सचिवालयका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ । उक्त बन्दसूचीमा कुनै त्रुटी देखिएमा त्रुटी सच्याउन निर्वाचन आयोगले दिएको समयसीमाभित्र सुधार गरी समयमै पेस गर्ने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार