२०८३ असार ३२ , बिहीबार

कांग्रेस चिङ्गाड–६ का वडा सचिवले दिए पदबाट राजीनामा




सुर्खेत ।
नेपाली कांग्रेस चिङ्गाड गाउँपालिका–६ पाम्काका वडा कार्यसमितिका सचिव दयाराम रानाले पदबाट राजीनामा दिएका छन्। १४औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा वडा कार्यसमितिको पदाधिकारीमा चयन भएका रानाले पार्टी नेतृत्वले नियमित महाधिवेशनप्रति चासो नदेखाएको र हालै भएको आन्दोलनको मर्मलाई बेवास्ता गरिएको भन्दै सचिव पदबाट राजीनामा दिएका हुन्।

राजीनामा पत्रमार्फत उनले चार वर्षे कार्यकालमा पार्टी हितका लागि आफ्नो विवेकले भ्याएसम्म काम गरेको उल्लेख गर्दै आफूलाई सहयोग, सल्लाह र मार्गदर्शन गर्ने सम्पूर्ण पार्टीका क्रियाशील सदस्यप्रति आभार व्यक्त गरेका छन्। उनले देशमा ठूलो आन्दोलनपछि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा आन्दोलनको प्रमुख म्यान्डेट नै नेतृत्व परिवर्तन रहेको भए पनि पार्टी नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन्।

नियमित अधिवेशनको समय भइसक्दा पनि उदासीनता देखाइनु दुःखद भएको र यसले पार्टीका आम कार्यकर्ताको मनोबल कमजोर बनाएको रानाको भनाइ छ। ‘महाधिवेशनको विकल्प महाधिवेशन मात्रै हो, नीति र नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जानुपर्छ,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

नियमित महाधिवेशन समयमै हुनुपर्छ भन्ने दृढ मान्यताका साथ आजकै मितिदेखि लागू हुने गरी आफूले नेपाली कांग्रेस वडा कार्यसमितिको सचिव पदबाट राजीनामा दिएको रानाले जनाएका छन्।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार