
अम्मर राजवंशी, गुर्भाकोट । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का पूर्व वडाअध्यक्ष धनिराम जैसीसहित तीनजनाले नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले प्रवेश गर्नेमा पूर्व वडाअध्यक्ष धनिराम जैसी, चन्द्रप्रकाश रोकाय र प्रेम विक रहेका छन्।
धनिराम जैसी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनी यसअघि नेकपा एमाले परित्याग गरी कांग्रेसमा आबद्ध भएका थिए भने आइतबार पुनः कांग्रेस परित्याग गर्दै पुरानै राजनीतिक घर नेकपा एमालेमा फर्किएका हुन्।
यस्तै रोकाय र विक पनि नेपाली कांग्रेसमा आवद्व थिए। साथै समाजसेवीका रूपमा समेत थिए। एमालेमा प्रवेश गरेका उनीहरूले वर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको गतिविधि तथा आफ्ना राजनीतिक विचारको आत्ममूल्याङ्कनपछि एमालेमा फर्किने निर्णय गरेको बताएका छन्।
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार