
सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानीले आफू मूल पार्टीमै रहेको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनमा कर्णाली र सुर्खेतका साथीहरू सहभागी भएको सुनेपछि महाधिवेशन स्थलमा पुगेर भेटघाट गरी फर्किएको उनले बताएका छन्।
“जुन पार्टीले मलाई तीन पटक सांसद बनायो, त्यही पार्टीलाई धोका दिन्न,” थानीले खबरदृष्टिसँग प्रतिक्रिया दिँदै भने। उनका अनुसार गगन थापा सभापति रहेको पक्षबाट सुर्खेतकी जानकी सिंह केन्द्रीय सदस्य बन्ने निश्चितजस्तै भएको छ भने तिर्थजंग शाहीसमेत केन्द्रीय सदस्य बन्ने प्रबल सम्भावना रहेको छ।
महाधिवेशन स्थलमा रहेका एक प्रतिनिधिले भने, “थानीले उपसभापति पद पाए जाने मनस्थिति बनाएका थिए, तर त्यो सम्भव नदेखिएपछि पछि हटे।” बिहीवार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेपछि पार्टी औपचारिक रूपमा दुई धारमा विभाजित भएको छ।
बैठकले गगन थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तथा विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको हो। उक्त निर्णयसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् चर्किएको छ।