२०८२ माघ ३ , शनिबार

सुर्खेत-२ बाट सिफारिस भएका काँग्रेस नेता थानी उम्मेदवार नबन्ने



सुर्खेत। सुर्खेत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट सिफारिस भएका नेपाली काँग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार एक सूचना जारी गर्दै थानीले आफू करिब दुई महिनादेखि खुट्टामा देखिएको नसासम्बन्धी स्वास्थ्य समस्याबाट पीडित रहेको हुँदा उम्मेदवार नहुने घोषणा गरेका हुन्।

स्वास्थ्य समस्याका कारण सहजरूपमा हिँडडुल गर्न समेत नसकिरहेको अवस्थामा रहेको उनले बताए। थानीका अनुसार चिकित्सकको सल्लाह बमोजिम हाल उनी घरमै फिजियोथेरापिस्टको सहयोगमा उपचाररत छन्।

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण माघ ६ गते तोकिएको मनोनयन दर्तामा समेत उपस्थित हुन नसक्ने तथा त्यसपश्चात सक्रिय रूपमा निर्वाचन अभियानमा सहभागी हुन कठिन हुने देखिएकाले उम्मेदवार नबन्ने निर्णय लिएको उनको भनाइ छ। उनले आफ्नो स्वास्थ्यमा सुधार आएपछि पार्टी र जनताको सेवामा पुनः सक्रिय हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार