
जाजरकोट । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जाजरकोटका नेता गणेशप्रसाद सिंहले प्रतिनिधिसभा सदस्य निर्वाचनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्।
आसन्न फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट वितरणमा असहमति जनाउँदै उनले यो निर्णय लिएका हुन्। १० पुस २०८२ मा सम्पन्न नेकपा जाजरकोटको बैठकमा शक्तिबहादुर बस्नेतले निर्वाचनमा नउठ्ने बताएका थिए। तर, पार्टी केन्द्रले उनै बस्नेतलाई पुनः टिकट दिएको भन्दै सिंह असन्तुष्ट बनेका हुन्।
प्रतिनिधिसभा सदस्यका लागि शक्तिबहादुर बस्नेतसहित गणेशप्रसाद सिंह, रामदीप आचार्य, कृष्ण बीसी, पार्वती थापा र महेश अधिकारीको नाम सिफारिस गरिएको थियो। तर, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्नेतलाई टिकट दिएपछि सिंहले पार्टी छोड्ने निर्णय गरेका हुन्।
सिंहले एक व्यक्तिलाई निर्वाचनमा उठ्न टीका लगाएर आदेश दिने, अध्यक्षस्तरबाट निरन्तर दबाब सिर्जना गर्ने कार्य पार्टी विधानविपरीत भएको आरोप लगाएका छन्। गणेशप्रसाद सिंह २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशसभा सदस्यमा विजयी भएका थिए।
उनको यो विद्रोहले जाजरकोटमा शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा असर पर्ने देखिएको छ। बस्नेत माओवादी मूलधारको राजनीतिमा आएयता प्रचण्डबाट सबैभन्दा बढी लाभ लिने नेतामध्ये एक मानिन्छन्। उनले २०६४ यता भएका सबै प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउँदै लामो समय मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।