२०८३ वैशाख ३ , बिहीबार

निरजलाई टिकट नदिएको भन्दै जुनिचाँदेका अध्यक्ष शाहीले गरे एमाले परित्याग



सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले नेकपा (एमाले) पार्टी परित्याग गरेका छन्। एमालेबाट निर्वाचित अध्यक्ष शाहीले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

अध्यक्ष शाहीले जाजरकोटका एमाले नेता निरज आचार्यलाई पार्टीले टिकट नदिएको विषयप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको खबरदृष्टिलाई जानकारी दिए। उनका अनुसार टिकट वितरणमा पार्टीले स्थानीय चाहना र जित्ने सम्भावनालाई बेवास्ता गरेको छ।

उनले भने, ‘हाम्रो जाजरकोटमा पार्टीले जसलाई टिकट दिनुपर्थ्यो, त्यो मान्छेलाई दिएन। सबैको चाहना निरज आचार्यलाई टिकट दिनुपर्ने हो भन्ने थियो तर त्यसो भएन। त्यसैले मैले आजकै दिनदेखि एमाले पार्टी परित्याग गरेको घोषणा गरेको हुँ।,’

अध्यक्ष शाहीले पार्टी परित्याग गरेपछि कुनै पनि अन्य राजनीतिक दलमा नलाग्ने स्पष्ट पारेका छन्। उनले एमाले नेतृत्वले चुनाव जित्न सक्ने व्यक्तिलाई भन्दा पनि जित्न नसक्ने कार्यकर्तालाई टिकट दिएको आरोप लगाए।

साथै, शाहीले पार्टीभित्र अधिनायकवाद लादिँदै गएको, नातावाद–कृपावाद हावी भएको, जनआधार भएका तथा इतिहास बोकेका नेता–कार्यकर्तालाई पन्छाउने प्रवृत्ति बढेको आरोप लगाएका छन्। यी कारण देखाउँदै आजकै दिनदेखि पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत समेत जानकारी गराएका छन्।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार