
जाजरकोट । नेपाली कांग्रेस जाजरकोटका उम्मेदवार खडक बहादुर बुढाले मतदातालाई झुटा आश्वासन देखाएर मत लिने दिनको अन्त्य भएको बताएका छन्। बुधबार भेरी नगरपालिका–२ मा घरदैलो अभियानका क्रममा मतदातासँग कुरा गर्दै उनले जनता पहिलेभन्दा धेरै सचेत भइसकेको भन्दै यसअघिका केही उम्मेदवारहरूले ढाटेर र आश्वासन बाँडेर मत माग्ने प्रवृत्ति अब नचल्ने दाबी गरे।
उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जाजरकोटमा विकास नगरेको आरोप लगाउँदै मत माग्न विभिन्न बहाना बनाउने काम मात्र गरेको टिप्पणी गरे। जाजरकोट अझै धेरै क्षेत्रमा अभाव र पछौटेपनको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले समयले परिवर्तन मागिरहेको बताए।
आफूमाथि जनताको भरोसा र उत्साह देखिएको दाबी गर्दै बुढाले अन्य उम्मेदवारहरू फेरि पनि झुटा आश्वासन बाँड्न आएको आरोप लगाए। विगतका झुटा बाचा र अपूरा प्रतिबद्धताका कारण जनता असन्तुष्ट बनेको उनको भनाइ थियो।
जाजरकोटका समस्या संसदमा सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आफू जनताका सुख–दुःख साट्न आएको बताए। विकट बस्ती र साधारण जनताको प्रतिनिधिका रूपमा जाजरकोट बदल्ने स्पष्ट योजना, इच्छा र कार्ययोजना आफूसँग रहेको उनले उल्लेख गरे।