२०८३ वैशाख २ , बुधबार

जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल



जाजरकोट । गत चैत १९ गतेदेखि सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जाजरकोटमा सट्टामा परीक्षा दिने र दिन लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। छेडागाड नगरपालिका–१२ कार्कीगाउँस्थित नारायणी माध्यमिक विद्यालयमा भइरहेको परीक्षामा सट्टामा परीक्षा दिएको आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

हिजाे आइतवार गणित विषयको परीक्षामा सांकेतिक नाम ‘फुम्ना बि’ नामको प्रवेशपत्र प्रयोग गरी एक नाबालकले आफ्नो बुवाको नाममा सट्टामा परीक्षा दिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परीक्षा केन्द्रमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा नाबालकले आफ्नो बुवाको नाममा परीक्षा दिएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त सट्टा परीक्षा दिन तथा नक्कली प्रवेशपत्र बनाउन सहयोग गर्ने छेडागाड नगरपालिका–११ झाप्रास्थित बाल माध्यमिक विद्यालयका ४२ वर्षीय लेखापाल कालीबहादुर नेपालीलाई पनि पक्राउ गरिएको छ। उनलाई आइतवार  दिउँसो झाप्रास्थित विद्यालय अगाडिको सडकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी एक्क बहादुर नेपालीले खबरदृष्टिलाई जानकारी दिए ।

उनका अनुसार प्रहरीले बालक, उनका बाबु र सहयोगी कालीबहादुर नेपालीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। नाबालकको हकमा जाजरकोट जिल्ला अदालतबाट पाँच दिन र अन्यका हकमा जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार