२०८३ भदौ २० , शनिबार

रास्कोट–८ मा अविरल वर्षाले दुई घर भत्कायो, मानवीय क्षति भएन



जगदिश शाही
कालीकोट । रास्कोट नगरपालिका–८ मा हिजो राति परेको अविरल वर्षाका कारण दुई वटा घर पूर्णरूपमा क्षति भएका छन्। लगातारको वर्षाका कारण घर भत्किए पनि घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।

स्थानीय गंगाराम न्यौपानेका अनुसार, अविरल वर्षाका कारण रास्कोट नगरपालिका–८ का सर्जु न्यौपाने र हरिचन्द्र न्यौपानेका घर पूर्णरूपमा भत्किएका हुन्। घर भत्किएपछि दुवै परिवार प्रभावित भएका छन्।

रातिको समयमा लगातार वर्षा भइरहेका बेला घरमा क्षति पुगे पनि समयमै सुरक्षित स्थानमा जान सकेकाले मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ। घटनाका कारण घर तथा घरभित्र रहेका सामग्रीमा ठूलो क्षति पुगेको छ।

वर्षाका कारण उक्त क्षेत्रमा थप क्षतिको जोखिमसमेत बढेको छ। स्थानीयवासीलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित रहन आग्रह गरिएको छ। प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै आवश्यक राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने स्थानीयको माग छ।

यसैबीच, लगातारको वर्षाका कारण रास्कोट नगरपालिका क्षेत्रमा अन्य स्थानमा समेत क्षति पुगेको हुनसक्ने भएकाले स्थानीय तह तथा सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरी आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

प्रकाशित मिति : २०८३ भदौ २० गते शनिबार