सिद्धदर्शन संवाददाता
सुर्खेत । कर्णाली प्रदेशका शिक्षक लोकेन्द्र चन्द ‘पी।पी। प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार’बाट सम्मानित हुनुभएको छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षण–सिकाइमा नवीन तथा रचनात्मक विधिको प्रयोग र शिक्षा क्षेत्रमा पुर्याएको निरन्तर योगदानको कदर गर्दै पी।पी। प्रसाई फाउण्डेसनले चन्दलाई उक्त पुरस्कार प्रदान गरेको हो।
राष्ट्रियस्तरमा प्रदान गरिने यस सम्मानका लागि कर्णाली प्रदेशबाट चन्दलाई उत्कृष्ट शिक्षकका रूपमा छनोट गरिएको बताइएको छ। पुरस्कार प्राप्त गरेपछि चन्दले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि कर्णालीको शिक्षा क्षेत्र र सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूको सम्मानका रूपमा लिएको बताउनुभयो।
विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न, शिक्षण प्रक्रियालाई प्रभावकारी तथा विद्यार्थीमैत्री बनाउन र विद्यालयको शैक्षिक वातावरण सुधार गर्न चन्दले निरन्तर योगदान गर्दै आउनुभएको छ।
पी।पी। प्रसाई फाउण्डेसनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने शिक्षकलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले हरेक वर्ष उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कार प्रदान गर्दै आएको छ। यसै क्रममा यस वर्ष कर्णाली प्रदेशबाट चन्दलाई छनोट गरिएको हो।
कर्णालीजस्तो भौगोलिक रूपमा विकट प्रदेशमा सीमित स्रोत–साधनका बीच सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सक्रिय शिक्षकलाई राष्ट्रियस्तरमा सम्मान गरिनुले प्रदेशको शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।
चन्दलाई प्राप्त सम्मानले कर्णालीका शिक्षक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका सरोकारवालामा थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। सम्मानबाट आफूलाई आगामी दिनमा अझ जिम्मेवार र समर्पित भएर काम गर्ने प्रेरणा मिलेको बताउँदै चन्दले गुणस्तरीय तथा व्यवहारिक शिक्षाका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।