सुर्खेत । दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तरगत पर्ने दैलेखको आठबीस नगरपालिका–१ मा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क १ ज ५५ नम्बरको डबल क्याप जीप साेमवार बिहान ११ः४० बजेकाे समयमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले खबरदृष्टिलाई जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाईते हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का ७ वर्षीय भिष्म बोगटी र ३३ वर्षीय दुर्गा बोगटी रहेकी छन् । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको डीएसपी लम्सालले बताए । यस्तै, सामान्य घाईते हुनेहरूमा कालिकोटको नरहरिनाथ गाउँपालिका ७ बस्ने बर्ष ७ कि प्रतिक्षा बटला, त्रिबेणी गाउँपालिका २ बस्ने बर्ष १४ का सरद बिष्ट, नरहरिनाथ गाउँपालिका ५ बस्ने बर्ष २० कि मनिसा बोगटी, वडा नम्बर ८ बस्ने बर्ष ५५ कि गोपिकला बिष्ट, ७ बस्ने बर्ष ७ का प्रशान्त बुढा, सोही ठाउँ बस्ने बर्ष ६ का अखिल बुढा रहेकाे डिएसपी लम्सालले जानकारी दिए ।
यस्तै, सोही ठाउँ बस्ने बर्ष ६ का राजकुमार बोगटी, बर्ष ६ कि स्वस्तिका बोगटी, बर्ष १२ कि कल्पना सहकारी, बर्ष ५ का भुवन बटाला, वडा नम्बर ५ बस्ने बर्ष १२ का सुबास सहकारी र जीप चालक कालिकोट नरहरिनाथ गाउँपालिका ७ बस्ने बर्ष २४ का धन बहादुर बटाला रहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएकाहरूलाई कर्णाली राजमार्ग अन्तर्गत सांगेतडास्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेको छ । डबल क्याप बोलेरो जीपको ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेकोे छ ।