
डोल्पा। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं। १ अन्तर्गत रल्ली गाउँमा पर्ने ऐतिहासिक राजारानी क्षेत्र संरक्षणको पर्खाइमा छ । संरक्षणमा कसैले पनि चासो नदेखाएपछि उक्त क्षेत्र अहिले छायाँमा परेको छ । बाइसे चौबिसे राज्य हुँदा डोल्पाका नौ राज्यमध्ये शक्तिशाली राज्यको रुपमा रहेको राजारानी क्षेत्रमा अहिले पनि राजा लिम्बुल्याप्चेका प्रतिमा स्वरुप बनाइएका देवल देख्न सकिन्छ ।
सो क्षेत्रमा उत्खनन् गर्दा प्राचिन बाजाहरु, बहुमुल्य पुलिक, धातुका सामग्री भेटिन्छन् भने बहादुर शाहको एकीकरणबाट जोगिन बनाइएका जमिन भित्रका घरहरु देख्न सकिन्छ ।ऐतिहासिक क्षेत्रको संरक्षण हुन नसकेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
केही वर्ष अघि डोल्पा पुगेको पुरातत्व विभागको टोलीले अनुसन्धान गर्दा पत्थरका बहुमुल्य माला लगायतका पन्ध्र प्रकारका पुरातात्विक बस्तुहरु फेला पारेका थिए । उत्खनन् गर्दा भेटिएका पुरातात्विक बस्तुहरु यस क्षेत्रमै संग्राहलय बनाएर राख्नुपर्ने स्थानीयको माग छ ।
पुरातत्व विभागले संरक्षित क्षेत्रको रुपमा सूचीकृत गरेपनि अहिलेसम्म कुनै काम नभएको स्थानीयले गुनासो गरे । प्राचिन इतिहासको साक्षीको रुपमा रहेको राजारानी क्षेत्रलाई प्रचार–प्रचार विकास र संरक्षण गर्न स्थानीयले माग गरेका छन् ।