
सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाका बालबालिकाको क्षमता विकास गर्नुका साथै नेपालको संसदीय व्यवस्थालाई बुझाउन बाल संसद् अभ्यास कार्यक्रम आयोजना गरिएको छ । संघीय बाल संसद् कार्यक्रम अन्तर्गत संघीय संसद् सचिवालयले सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको नमूना संसद् अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका हुन् ।
उनीहरुले सदनमा कर्णालीमा रहेको छाउपडी जस्ता कुप्रथा, बालविवाह, विकास निर्माणका कार्यहरू, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकारलगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरू राखेका थिए सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो । बाल संसद् अभ्यासका प्रशिक्षक रमेश पौडेल र वीरेन्द्रबहादुर कार्कीले सदनमा सहभागीहरूले मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिने लगायतका कुरा सिकाएका थिए ।
संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाका बारेमा जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने संघीय संसद् सचिवालयका सचिव डा भोजराज पाण्डेको भनाइ छ । उनले नमूना बालबालिका संसदीय अभ्यास अत्यन्तै उपलब्धिमूलक तथा बालबालिकालाई नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण कार्यक्रम भएको बताए । चार दिवसीय नमूना बाल संसद् अभ्यास कार्यक्रम मार्फत नेपालको संसदीय अभ्यासबारे जानकारी गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्य रहेको संसद् सचिवालयका उप–सचिव बबिता मिश्रले बताए ।
उनले कर्णालीबाट शुरु भएको नमूना बाल संसद् अभ्यास कार्यक्रम देशका अन्य प्रदेशमा समेत सञ्चालन गरिने जानकारी दिए । नमूना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरूको सहभागिता रहेको कार्यक्रमका सह आयोजक युनिसेफका वरिष्ठ सामाजिक विशेषज्ञ ठाकुर ढकालले जानकारी दिए । बालबालिकालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ तथा भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि नमूना संसदीय अभ्यास प्रभावकारी रहेको मित्र समाजका टोली प्रमुख विनयदिल लामाले बताए ।
सहभागीहरूका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविधान, सरकारको प्रशासनिक तथा राजनीतिक प्रणालीहरूका बारेमा विस्तृत ज्ञान लिन पाएको बताए । कार्यक्रममा संसदीय अभ्यास गर्दै गर्दा आफूमा भाषण कला, आत्मबल तथा राज्य र राजनीतिक ज्ञान–सिपको विकास भएको महसुस भएको कालिकोटबाट आउनु भएकी विद्यार्थी कल्पना आचार्यको भनाइ थियो ।