वन अतिक्रमण गरी बनाइएको भवन भत्काउँदै सब डिभिजन

कुलेन्द्र शाही २३ बैशाख २०८०, शनिबार १४:०६

जाजरकोट । जाजरकोटमा सामुदायिक वन अतिक्रमण गर्ने क्रम बढ्दै गएको छ । जाजरकोटको विभिन्न सामुदायिक वन आसपासमा वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दै गएको छ ।

 

जिल्लामा दैनिक विभिन्न व्यक्ति तथा संघ, संस्थाले सामुदायिक वन अतिक्रमण गर्न थालेका छन् । केही समयअघि डिभिजन वन कार्यालय जाजरकोटभन्दा तीन सय मिटर नजिक वन अतिक्रमण गरी घर टहरा निर्माण गरिएको थियो ।

 

तर वन कार्यालयले नदेखेझैँ गरी त्यसतर्फ चासो नै नदिएको बुझिएको थियो । अतिक्रमणकारीले मुख्य सडक छेउछाउका सार्वजनिक जग्गा कब्जा गर्न थालेपछि डिभिजन वन कार्यालय जाजरकोटले पटक–पटक चेतनामूलक सूचना प्रकाशित गर्दै आए पनि त्यस सूचनाको कुनै पनि पालना नगरेको प्रस्ट देखिन्छ ।

 

जिल्लाको भेरी नगरपालिका १२ को गुराँस सामुदायिक वनमा त झन् वन अतिक्रमण गरी तरकारी संकलन केन्द्रको पक्की भवन निर्माण गरिएको छ । यो वनलाई सहकारीदेखि विभिन्न व्यक्तिहरूले अतिक्रमण गर्दै आएका छन् ।

 

३३ लाख लागतमा निर्माण
भेरी नगरपालिका १२ मा तरकारी संकलन केन्द्रको भवन कर्णाली प्रदेश सरकारले उपलब्ध गराएको बजेटले निर्माणाधीन भइरहेको छ । उक्त भवन निर्माणका लागि तत्कालीन कर्णाली प्रदेश सरकारकी आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाहले ५० लाख बजेट विनियोजन गरेकी थिइन् ।

 

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट कार्यान्वयन हुने गरी उक्त ठाउँमा तरकारी स्रोत केन्द्रका लागि बजेट आएको थियो । भवन कहाँ बनाउने भनी छलफल भएपंश्चात वन समिति र जनप्रतिनिधिको रोहवरमा अतिक्रमित क्षेत्रमा भवन निर्माण कार्य अगाडि बढेको थियो ।

 

सार्वजनिक जग्गामा भवन बनाउन पाउने भन्दै सो ठाउँमा भवनको स्टिमेट तयार गरेको स्थानीयको भनाइ छ । सहमति भए भवन निर्माण गर्न सकिने भन्दै कार्यालयले कुल ४७ लाखको टेन्डर गरेको थियो । टेन्डरमा वाइके कन्स्ट्रक्सन भेरी नगरपालिका ११ जाजरकोटले ३३ लाख लागतमा भवन निर्माणको जिम्मा लिएको छ ।

 

डिभिजन वन कार्यालयले के भन्छ ?
डिभिजन वन कार्यालय जाजरकोटले सामुदायिक वनमा भवन निर्माण गर्न नमिल्ने बताएको छ । वन अधिकृत राधाकृष्ण दासले वन अतिक्रमण गरेर भवन निर्माण गर्न नमिल्ने जानकारी दिए ।

 

सामुदायिक वन अतिक्रमण गरी केन्द्र नबनाउन पत्राचार गरेको र अटेर गरे कानुन अनुसार कारबाही गर्ने उनको भनाई छ । वन क्षेत्रको जग्गा कसैलाई भोग चलन गर्न पाउने अधिकार कसैलाई पनि नभएको उनले जानकारी दिए ।

 

संस्थागत रूपमै भइरहेको वन अतिक्रमण रोक्न वडा कार्यालय र जनप्रतिनिधिलाई निर्देशन दिएको उनको भनाई छ ।

बनेको भवन भत्काउँछौँ : रेन्जर चन्द
सब डिभिजन वन कार्यालय भेरीका रेन्जर पूर्णबहादुर चन्दले निर्माणाधीन तरकारी संकलन केन्द्रको भवन भत्काउने बताएका छन् । उनले अहिले छलफलको प्रक्रियामा रहेको र छलफल पछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीको टोलिलाई निर्देशन दिएर उक्त भवनलाई भत्काउने खबरदृष्टिलाई जानकारी दिए ।

 

रेन्जर चन्दले सामुदायिक वन संरक्षणको लागि सबै भन्दा वन उपभोक्ता समिति जागरूक हुनुपर्ने बताए । सार्वजनिक जग्गा भएको खण्डमा सम्बन्धित निकायबाट अनुमति लिएर भौतिक संरचना निर्माण गर्नुपर्ने कानुनी प्रावधान रहेको उनको भनाई पर्दछ ।

जनताको हितको लागि भवन बनाएको वडा अध्यक्षको दाबी
भेरी नगरपालिका १२ का वडा अध्यक्ष वसन्त मल्लले सबै प्रक्रिया पुरा गरेर उक्त भवन बनाइएको बताएका छन् । उनले भवन निर्माण गर्न वन उपभोक्ता समितिले अनुमति दिएकाले उक्त भवन बनाइएको जानकारी दिए ।

 

‘भवन बनेको ठाउँ खाली थियो, सबैको पायक ठाउँ सोही ठाउँ भएकाले भवन बनाउन लगाएका हौ ।’ अध्यक्ष मल्लले भने ‘सबै त्यो वन नै फडानी गरी भवन बनाएका होइनौ ।, हामीले जनताको लागि राम्रो काम गरेका छौ । त्यो कामलाई गलत भन्न मिल्दैन ।’

 

उनले सडक पनि सामुदायिक वनमै बनेको हुन्छ । त्यसलाई पनि अतिक्रमण गरेको भन्ने हो कि भनी प्रति प्रश्न गरे ।  स्थानीयले भने जनप्रतिनिधि र सामुदायिक वनका पदाधिकारीले आफूखुसी सामुदायिक वन अतिक्रमण गरी भवन निर्माण गर्न थालेको आरोप लगाएका छन् ।

३० प्रतिशत काम सम्पन्न
निर्माणाधीन भवनको काम ३० प्रतिशत सम्पन्न भएको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका इन्जिनियर रिबेश ब्याञ्जु श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त भवन निर्माणको लागि २४ फागुन २०७९ मा सम्झौता भएको थियो ।

 

उनले हाल उक्त भवन निर्माणको चरणमा रहेको र काम ३० प्रतिशत भन्दा बढी भइसकेको जानकारी दिए । उनका अनुसार उक्त भवन एक तले रहेको छ । भवन असार मसान्त २०८० भित्र सम्पन्न गर्ने सम्झौता भएको छ । असार मसान्त सम्म सबै काम सकिने गरी काम भइरहेको उनले जानकारी दिए ।

Next Post

पहिलो पटक प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सव हुँदै

२३ बैशाख २०८०, शनिबार १४:०६
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सव हुने भएको छ । बालबालिका, किशोर–किशोरी तथा युवाको क्षेत्रमा काम गर्दै आएको संस्था युवालयकाे आयोजनामा पहिलो पटक वैशाख २४ र २५ गते (आइतवार र सोमवार) दुई दिने महोत्सव हुन लागेको हो ।   राष्ट्रिय युवा परिषद्को सहकार्य […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031