सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक प्रादेशिक नीति संवाद एवम् कर्णाली युवा महोत्सव हुने भएको छ । बालबालिका, किशोर–किशोरी तथा युवाको क्षेत्रमा काम गर्दै आएको संस्था युवालयकाे आयोजनामा पहिलो पटक वैशाख २४ र २५ गते (आइतवार र सोमवार) दुई दिने महोत्सव हुन लागेको हो ।
राष्ट्रिय युवा परिषद्को सहकार्य र कर्णाली प्रदेश सरकारसँगको समन्वय तथा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगमा महोत्सव गर्न लागिएको युवालयले जनाएको छ ।
महोत्सवमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयमा कार्यरत सरकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने र सोको सम्बोधनका लागि साझा प्रतिवद्धताका लागि आव्हान गरिने युवालयका अध्यक्ष सन्तोष मर्हजनले जानकारी दिए ।
उनले वित्तिय साक्षरता, उद्यमशिलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणित अभिव्यक्ति लगायतका विषयमा विज्ञहरूबाट अभिमुखीकरण प्रदान गरिने जानकारी दिए ।
महोत्सव अवधिभर युवाहरूको अर्थपूर्ण सहभागितामा युवा लक्षित प्रदेशस्तरको नीति तथा कार्यक्रममा छलफल सत्र सञ्चालन गर्ने, बालविवाह अन्त्यका लागि साझा संकल्प लिने, लैंगिकतामा आधारित हिंसा स्वास्थ्य र अधिकारका बारेमा युवालाई सचेत गराउँदै युवामैत्री प्रदेश निर्माणमा उनीहरूलाई परिचालनको प्रयास गरिने छ ।
साथै महोत्सवमा कर्णाली क्षेत्रका सीमान्तकृत समूहको मूलप्रवाहिकरण दलित अधिकार अभियानका बारेमा चर्चा गर्नका लागि कर्णाली प्रदेशका १० वटै जिल्लाका युवाहरुको प्रतिनिधित्व रहेनछ।
महोत्सव अवधिमा हुने छलफलबाट उठेका मुख्य मुद्दाहरूलाई समेटेर घोषणापत्र जारी गरिनेछ । उक्त घोषणापत्र सम्बन्धित मन्त्रालय तथा प्रदेश योजना आयोगमा हस्तान्तरण गरिने आयोजकले जनाएको छ।