जुम्ला । जुम्लाका २२ वटा प्रहरी युनिटमा नागरिक सहजकर्ता सेवा शुरु भएको छ । प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको हो ।
प्रहरी कार्यालयमा एउटै युनिफर्म लगाएका धेरै प्रहरी हुने भएकाले सूचना नपाएर अलमलमा परको नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले नागरिक सहजकर्ता सेवा शुरु गरिएको हो । प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको जनाइएको छ ।
कर्णाली सुरक्षा अभियान कार्यक्रमअन्तर्गत प्रहरीका हरेक युनिटमा अब नागरिक सहजकर्तामार्फत सेवा प्रवाह गर्न थालिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । प्रहरी कार्यालयको मूलढोकामा एक जना युनिफर्ममा रहेका सिपाही नागरिक सहजकर्ताका रूपमा खटाउने व्यवस्थापन गरिएको छ ।
प्रहरी युनिटमा आउने हरेक सेवाग्राहीले सोधपुछ गर्ने र सेवाग्राहीले भनेअनुसारको कामको प्रक्रृतिअनुसार सम्बन्धित व्यक्ति तथा फाँटमा पठाइदिन तथा सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको हो । दुर्गम ठाउँका अशिक्षित व्यक्ति सेवाका लागि प्रहरी युनिटमा आएका हुन्छन् ।
जसलाई आफ्नो काम कहाँबाट हुन्छ भन्ने थाहा नहुँदा समस्यामा परेका हुन्छन् । त्यसैले अलमलमा पर्ने सेवाग्राहीलाई सहजीकरण गर्नका लागि नागरिक सहजकर्ताको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर मगरले जानकारी दिए ।
न्यायका लागि आउने जोकोही नागरिकलाई दिने हाम्रो सेवा सहज र सरल हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सहजकर्ताका रूपमा खटिने प्रहरीलाई निर्देशित गर्ने बताए । उनले सहयोगी भावनासहितको सेवा प्रवाह गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालयसहित जिल्लाभर २२ वटा प्रहरी युनिट रहेका छन् । २२ वटै प्रहरी युनिटमा एक जना सहजकर्ता खटाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।