२०८२ माघ ७ , बुधबार

सुर्खेत र धनगढीमा जग्गा किन्दै आयल निगम



सुर्खेत । नेपाल आयल निगमले कर्णाली प्रादेशिक कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका लागि ३० बिघा जग्गा खरिद गर्न लागेको छ । ६ बर्षअघि डिपोकै लागि जग्गा खरिद गर्दा ठूलो रकम घोटाला भई तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् ।

त्यतिवेला कमिसनको लोभमा परल मूल्यभन्दा चार गुणा बढी मूल्यमा निजी जग्गा खरिद गरिएको थियो । यसपटक भने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले दुवै डिपो निर्माणका लागि सरकारी जग्गा खोजी गर्न थालेका छन् । उनका अनुसार धनगढी डिपोका लागि राष्ट्रिय आवास कम्पनी लिमिटेडसँग र सुर्खेतका लागि सामुदायिक वन उपभोक्ता समितिसँग जग्गा खरिद गर्न छलफल भइरहेको छ ।

निगमले धनगढी डिपोका लागि जग्गा किन्न उपनिर्देशक दिवाकर मल्लिकको संयोजकत्वमा अर्का उपनिर्देशक प्रदीप यादव र प्रबन्धक मोहन शाह सदस्य रहेको समिति बनाएको छ ।  त्यस्तै, सुर्खेतमा जग्गा किन्न उपनिर्देशक मल्लिककै संयोजकत्वमा अर्का उपनिर्देशक नकुल भण्डारी र सुर्खेत डिपो प्रमुख दिवस विष्ट सदस्य रहेको समिति बनाइएको छ ।

धनगढीमा २० बिघा र सुर्खेतमा १० बिघा जग्गा किन्ने निगमको तयारी छ । सुर्खेतमा हाल १८ कट्ठा जग्गामा सानो डिपो छ । यहाँ भण्डारणगृह अत्यन्त न्यून भएको निगमको सुर्खेत डिपो प्रमुख दिवस विष्टले बताए । स्थानीय वीरेन्द्रनगर र सुर्खेत नगरपालिकाका विभिन्न पाँच स्थानमा रहेको सामुदायिक वनभित्रको जग्गा यकिन गरी खरिदका लागि सिफारिस भइसकेको विष्टले बताए ।

 सुदूरपश्चिम प्रादेशिक कार्यालयका लागि भने कञ्चनपुरमा राष्ट्रिय आवास कम्पनी लिमिटेडसँग रहेको २० बिघा जग्गा खरिदका लागि प्रक्रिया अघि बढाइएको समिति सदस्य तथा उपनिर्देशक ई.प्रदीप यादवले जानकारी दिए । अहिले धनगढीमा सुदूरपश्चिम प्रादेशिक कार्यालय छ । तर, राष्ट्रिय आवास कम्पनी लिमिटेडको जग्गा किन्ने टुंगो लागेमा कञ्चनपुरको पुनर्वास नगरपालिमा कार्यालय सर्नेछ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको योजना कार्यालय, कञ्चनपुरका प्रमुख क्रमजित राईले आयल निगमलाई डिपो निर्माणका लागि जग्गा दिन छलफल भइरहेको बताए । उनका अनुसार निगमले हेरेको जग्गा भारतीय सीमाबाट तीनदेखि पाँच किलोमिटर दूरीमा मात्रै छ । नयाँ ठाउँमा जग्गा किन्ने तयारी गर्दैगर्दा निगमले ६ वर्षअघि रुपन्देहीको रोहिणी नदी बगरमा किनेको १४.७ बिघा जग्गा भने प्रयोगविहीन अवस्थामा छ ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रबार