सुर्खेत । जुम्लाबाट प्रदेश (क) क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव जितेका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले नेपाली कांग्रेसमा फर्किएको घोषणा गरेका छन् । नेपाली कांग्रेसभित्रै विद्रोह गरी चुनाव जितेका कर्णाली प्रदेश सांसद शाहीले पुरानै पार्टीमा फर्किएको घोषणा गरेका हुन् ।
जुम्लामा आयोजित पत्रकार भेटघाटमा सांसद शाहीले स्वतन्त्र भएर निर्वाचन जितेपनि पार्टी त्यागेको अभिव्यक्ति कहल्यै नदिएको दाबी गरेका छन् । उनका अनुसार चुनावका बेला समेत पार्टीले टिकट नदिएर अन्याय गरेकोले स्वतन्त्र भएर न्याय माग्दै मतादाता माझ गएको बताए । सांसद शाहीले प्रदेशको क्षेत्र विकास कोष टुक्रे योजनामा नखर्चिने समेत बताए ।
जुम्लाको निर्वाचन क्षेत्र ९क० का चार वटै पालिका, नागरिकसँगको छलफल, विचार, विमर्शपछि मात्रै क्षेत्र विकास कोष खर्चको आधार तयार गरिने शाहीको भनाइ छ । जुम्लाका स्थानीय तहमा आवासीय विद्यालय आवश्यक रहेको उनले बताए । जटिल भूगोलमा छरिएर रहेका बस्तीबाट निकै कष्टका साथ शिक्षा आर्जन गर्नुपर्ने बाध्यता हटाउन आवासीय विद्यालय आवश्यक रहेको उनको भनाइ छ ।
कर्णाली प्रदेशमा समेत यो सवालमा छलफल गर्ने गरिएको सांसद शाहीले बताए । दबाब र प्रभावमा नपरी आवश्यकता र महत्व हेरेर मात्रै क्षेत्र विकास कोषको ४ करोड रुपैयाँबाट आयोजना छनोट गर्ने सांसद शाहीले प्रतिबद्धता जनाए ।