विद्युत प्राधिकरण र नगरपालिका बिच जुहारी : वीरेन्द्रनगरका हाइमास बत्ती बलेनन्

खबरदृष्टि सम्वाददाता ११ भाद्र २०८०, सोमबार ०७:२४

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर दैलेख रोड चोकमा राखिएको हाइमास बत्ती बल्न छोडेको झण्डै तीन महिना भन्दा बढी भइसकेको छ । यहाँका स्थानीयदेखि व्यवसायीहरूले हाइमास बत्ती बनाइदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि यसतर्फ ध्यान नदिइएको आरोप लगाएका छन्। विगतमा वीरेन्द्रनगरका मुख्य चोक चोकमा राखिएका हाईमास लाइट बल्न थालेपछि निकै खुसी भएका स्थानीयवासी अहिले निराश बनेका छन्।

 

चोक चोकमा बलेका बत्तीले रातिमा हुने चोरीचकारीमा कमी आउने र टोलसमेत उज्यालो हुने उनीहरूको अपेक्षा थियो। बत्ती बल्न छोडेको लामो समय भइसक्दा पनि मर्मतका लागि कुनै पहल नभएको स्थानीयहरूको भनाई छ । बत्ती मर्मत गरिदिने भनी पटक–पटक आश्वासन दिने गरेको भए पनि मर्मत गर्नतर्फ कसैले ध्यान नदिएको उनीहरूको गुनासो छ । वीरेन्द्रनगरका विभिन्न मुख्य चोकमा २५ वटा हाइमास बत्ती जडान भए पनि अधिकांश बत्ती बल्न छाडेका छन्।

 

जोडिएका बत्ती मध्ये १२ वटा बत्ती जडान गरेको तीन वर्ष भन्दा बढी भइसकेका छन् भने १३ वटा बत्ती गत वर्ष जडान गरिएको थियो। “बनाउने कुरामा ध्यान दिने तर त्यसको मर्मत सम्भारमा पटक्कै ध्यान नदिने नगरपालिकाको व्यवहार कत्ति पनि चित्त नबुझेको वीरेन्द्रनगर १० शान्तिनगरका मीनप्रसाद ढकाल बताउँछन् । ‘नगरपालिका नामैले काम नगर्ने भन्ने जस्तो लाग्छ। वीरेन्द्रनगरलाई “गर“ पालिका बनाए काम हुन्थ्यो कि,’ उनले रोष प्रकट गर्दै भने।

 

प्रदेशको राजधानी नभईदिइएको भए यहाँको विकास कस्तो हुँदो हो भन्ने आफूलाई सोचाई आउने गरेको उनको भनाइ छ । तर, वीरेन्द्रनगर नगरपालिकाले भने एक÷दुई ठाउँमा मात्रै बत्ती बिग्रेको र अरू सबै चलिरहेको दाबी गरेको छ । हाइमास बत्ती बिग्रेमा बनाउने जिम्मा नगरपालिकाको हो ।  तर, नगरपालिकाले बनाउने आश्वासन दिएको ३ महिना भइसक्दा पनि बत्ती बनाउन सकेको छैन ।

 

बत्ती बिग्रेको तीन महिनापछि नगरपालिकाले विद्युत् प्राधिकरणले बत्ती बिगारेको भन्दै विद्युत् प्राधिकरणलाई आरोप लगाउन सुरु गरेको छ । नगरपालिकाका जिन्सी शाखा प्रमुख खड्क केसीले विद्युत् प्राधिकरणले बत्तीको लाइन काटेको हुँदा बत्ती बल्न नसकेको बताए । उनले प्राविधिक टोली पठाएर राम्रोसँग हेरविचार गरेपछि प्राधिकरणले लाइन काटेको हुँदा हालसम्म पनि बत्ती बल्न नसकेको बताए ।

 

‘मैले दुई हप्ता अगाडि प्राविधिकको टोली पठाएर बत्ती हेर्न लगाए, हेरेपछि थाहा भयो प्राधिकरणले लाइन काटेको रहेछ,’ उनले भने । नगरपालिकाले प्राधिकरणलाई लाइन जोडिदिन आग्रह गर्दा पनि प्राधिकरणले वास्ता नगरेको केसीको आरोप छ । उनले बत्तीको बिल तिरिरहँदा पनि प्राधिकरणले लाइन काटेको आरोप लगाए ।

 

‘हामीले निरन्तर बत्तीको बिल तिरिरहेका छौँ, तैपनि प्राधिकरणले लाइन काटेको छ,’ उनले भने, ‘किन र के कारणले काटेको हो अहिलेसम्म केही उत्तर दिएको छैन ।’ उनले अगाडि भने, ‘६÷७ दिन अगाडि प्राधिकरणले त्यो लाइनको रि–कनेक्सनको लागि १ हजार १ सय ५० रुपैयाँ लाग्छ भन्यो, हामीले उक्त रकम तिर्‍यौ।’ यतिका दिन भइसक्दा पनि लाइन नजोडेको उनको गुनासो छ ।

 

नगरपालिकाबाट केही कमजोरी नभएको र प्राधिकरणले केही वास्ता नै नगरेकोले फेरि यसबारेमा बुझ्न सोमवार प्राधिकरणको कार्यालयमा जाने उनले जानकारी दिए । नगरपालिकाले दैलेख रोड चोकको बत्तीको लाइन मात्रै होइन लाटिकोइली शिव मन्दिर नजिकै भएको हाइमास बत्तीको समेत पैसा तिरेको बताए । यता, विद्युत् प्राधिकरण सुर्खेतले भने आफूहरूले हाईमास बत्तीको लाइन नकाटेको बताएको छ ।

 

प्राधिकरण प्रमुख पदम बुढाले आफूहरूले लाइन नकाटेको तर वीरेन्द्रनगरका चोक चोकमा रहेका हाइमास बत्तीको तार जलेको हुँदा बत्ती बल्न नसकेको बताए । ‘हामीले लाइन काटेको होइन। तार जलेपछि हामीले लाइन काटेका हौँ, नगरपालिकालाई बारम्बार तार जलेकोले तार ल्याउनुहोस् हामी जोडिदिन्छौ भनेकै हो, तर, उहाँहरूले सत्यनारायण मन्दिर नजिकै भएको तार ल्याएर आफै जोड्न भन्नु भयो, हामी आफैले तार बोकेर लाइन जोड्ने गरेका छैनौँ,’ उनले भने ।

 

प्रमुख बुढाले नगरपालिकाले तार नलाएसम्म आफूहरूले लाइन नजोड्ने बताए । वीरेन्द्रनगर नगरपालिका र प्राधिकरणको इगोका कारण अझै केही समय वीरेन्द्रनगरका हाईमास लाइट बल्ने सम्भावना देखिँदैन । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमै बत्तीको बारेमा यी दुई सरकारी निकाय बिच देखिएको “अनबनले” जनता दुःख पाउन बाध्य भएका छन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

Next Post

नेता दानबहादुर शाहीलाई एमालेले गर्‍यो निलम्बन

११ भाद्र २०८०, सोमबार ०७:२४
कालीकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) कालीकोटले जिल्ला कमिटी सदस्यबाट दानबहादुर शाहीलाई निलम्बन गरेको छ । आफ्नी कान्छी श्रीमतीलाई ‘तेरो बाबु मैले मारेको हो तँलाई पनि मार्छु’ भन्दै ज्यान मार्ने धम्की दिएको समाचार प्रकाशित भएपछि उक्त विषयमा कानुनी निकायबाट छानबिन नहुँदासम्मका लागि नेकपा एमाले कालीकोटले एक विज्ञप्ति प्रकाशित गर्दै शाहीलाई […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031