२०८३ वैशाख ४ , शुक्रबार
नगरपालिका र ठेकेदारको लापरबाही

छिन्चु बसपार्क निर्माण कार्य सुस्त गतिमा

नौ महिनामा १० प्रतिशत मात्रै सम्पन्न


निर्माणधिन छिन्चु बसपार्क

कुलेन्द्र शाही, सुर्खेत । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार छिन्चुमा बन्दै गरेको ‘छिन्चु बसपार्क’ निर्माण कार्य सुस्त भएको छ । नगरपालिका र ठेकेदार कम्पनीको लापरबाही कारण बसपार्क निर्माणको कार्य सुस्त भएको हो । गत मङ्सिर २८ मा भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख धनसरा बोहोरा र वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर डाँङ्गी लगायतको उपस्थितिमा तामझामका साथ शिलान्यास गरिएको बसपार्कको काम सुस्त भएको हो ।

प्रतिशतमा कुरा गर्नुपर्दा ९ महिनामा १० प्रतिशत मात्रै काम सम्पन्न भएको प्राविधिकहरू बताउँछन् । निर्माणको जिम्मा लिएको ग्राण्ड डिजाइन एण्ड कन्स्ट्रक्सन प्रा‍‍.लि केही समय अगाडि सम्पर्कविहीन भएको थियो भने अहिले सम्पर्कमा आएको छ । उसले अहिले काम सुस्त गतिमा काम गरिरहेको छ ।

नगर विकास कोषको ७० प्रतिशत र नगरपालिकाको ३० प्रतिशत ऋण सम्झौता गरी कुल १० करोड ९५ लाख रुपैयाँको लागतमा २ दशमलव १५ हेक्टर क्षेत्रफलमा बसपार्क निर्माण गर्न लागिएको छ । तर, सुरुमा काम धमाधम भए पनि पछिल्लो समय ठेकेदार तथा नगरपालिकाको लापरबाहीले बसपार्कको काम कछुवा गतिमा भइरहेको छ ।

यता, भेरीगंगा नगरपालिकाका इन्जिनियर विजय केसीले बसपार्कको काम सुस्त गतिमा भएको स्वीकार गरे । उनले ठेकेदारको लापरबाहीले उक्त काम सुस्त गतिमा भएको बताए । ‘जुन गतिमा काम हुनुपर्ने हो भइरहेको छैन’ केसीले भने, ‘ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न पत्राचार गरिसकिएको छ, तर पनि किन काम सुस्त गतिमा गरेको हो मलाई पनि थाहा छैन ।’

केसीले कामको भौतिक प्रगति १० प्रतिशत मात्रै भएको बताए । ‘उनले यही गतिमा भयो भने काम समयमै सकिन असम्भव छ ।’ उनले भने, ‘समय त धेरै नै भएकोले मन लगाएर गरे सकिन पनि सक्छ । बसपार्कमा अहिलेसम्म फाउन्डेसन खन्ने र पिलर बनाउने काम मात्रै भएको छ ।’

यता, बसपार्क निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका ठेकेदार गणेश भुसालले पनि काम सुस्त गतिमा भएको स्वीकार गरे । उनले नगरपालिकाले  मोबिलाइजेसन (पेश्की) बापत रकम कम दिएकाले काममा ढिलाइ भएको बताए । उनले आफूहरूले पाउनुपर्ने रकम नपाएको हुँदा काममा ढिलाइ भएको जिकिर गरे।

‘हामीले असार मसान्तभन्दा पहिले नै मोबिलाइजेसन (पेश्की) रकम पाउनुपर्ने हो । तर उहाँहरूले दिनुभएको छैन, सुरुमा एक करोड बराबर रकम दिनुभयो, उहाँहरूले दिनुपर्ने २ करोड हो, साउनमा दिन्छु भन्नुभयो, तर अहिलेसम्म पनि दिनुभएको छैन,’ उनले भने ।

उनले बसपार्क निर्माणको लागि बालुवा लगायतका सामानको अभाव भएकाले पनि काम सुस्त गतिमा भएको बताए । उनले नगरपालिकालाई मोबिलाइजेसन रकमको लागि नगरपालिकालाई तीन पटक पत्र पठाइसक्दा पनि वास्ता नगरेको बताए ।

यता, इन्जिनियर केसी भने काम सम्पन्न नहुनेबेलासम्म एक पैसा पनि नदिने दाबी गर्छन् । उनी ठेकेदारको लापरबाहीले गर्दा काम सुस्त गतिमा भएको आरोप लगाउँछन् । लामो समयपछि भेरीगंगाको छिन्चुमा बसपार्क बन्न लागे पनि ठेकेदार र नगरपालिका बिच लफडा सुरु भएकोले समयमै काम सम्पन्न हुनेमा शङ्का छ।

बसपार्कको निर्माण समयमै नहुँदा यातायात व्यवसायीहरूले बस पार्किङको समस्या खेप्दै आएका छन् । बसपार्कको काम छिटो नहुँदा स्थानीयहरू पनि आक्रोशित छन् । बसपार्कमा तीन तले भवन, तीन वटा गेट, टिकट काउन्टर र विभिन्न पसलहरू सञ्चालन गर्न सकिने छ । बसपार्क सञ्चालनमा आएपछि यात्रुहरूलाई सहजता हुने र भेरीगंगाको विकासमा समेत टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।

कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका समेत रहेको छिन्चुमा बसपार्क नहुँदा व्यवसायी लगायत सर्वसाधारणलाई समेत निकै सास्ती भएको छ । पार्किङको व्यवस्था नहुँदा बजारको छेउछाउमा जथाभाबी गाडी पार्किङ गर्ने गरिएको छ । समय क्रम अनुसार नयाँ बस थपिने तथा धमाधम नयाँ संरचना बन्न थालेपछि पार्किङको समस्या थप जटिल बन्दै गएको छ ।

सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । बसपार्क नहुँदा सडक दायाँबायाँ, होटेल, स्थानीयका घर अगाडि सवारी साधन पार्किङ गर्ने गरिएको छ ।

सडकको दायाँ र बायाँका किनारमा सवारी साधन पार्किङ गरिएका कारण यात्रुहरूलाई हिँडडुल गर्न अप्ठ्यारो भइरहेको छ । छिन्चुमा निर्माणाधीन छिन्चु बसपार्क २९ असार २०८१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

No description available.

No description available.No description available.No description available.

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार