२०८३ जेठ २७ , बुधबार

जाजरकोटमा शिक्षकहरू हाकाहाकी माओवादी पार्टीको कार्यक्रममा सहभागी (भिडियोसहित)



कुलेन्द्र शाही, सुर्खेत ।  जाजरकोटमा एक जना शिक्षक नै पार्टीको कार्यक्रममा सहभागी भएका छन् । शिवालय गाउँपालिका वडा नम्बर १ स्थित स्यापीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पुन जनतासँग माओवादी विशेष रूपान्तरण अभियान कार्यक्रममा सहभागी भएका हुन् ।

पुनले पार्टीको कार्यक्रममा सहभागी भएर नेता तथा पार्टीका कार्यकर्तासँग भिडियो बनाउनुका साथै नेकपा माओवादी जिन्दाबाद भन्ने नारा समेत लगाएका छन् । कार्यक्रममा सहभागी पुनले माओवादी जिन्दाबाद भन्दै नारा लगाएपछि यति बेला सामाजिक सञ्जालमा उनको आलोचना सुरु भएको छ।

स्थानीय केपी महतारा सामाजिक सञ्जालमा पुनले जिन्दाबाद भन्दै नारा लगाएको भिडियो शेयर गर्दै लेख्छन्, ‘ बधाई छ सबैलाई यो जाजरकोट शिवालय गाउँपालिका १ वडाका नेरामाबि विद्यालयको हेडसर जस्तो गरिमामय पदको व्यक्ति पार्टीको सङ्गठन बिस्तारमा यसरी डटेर लाग्छन् । हाम्रो कसरी सुधार हुन्छ, तर व्यक्तिगत रूपमा मेरो गोपाल पुन प्रति उच्च सम्मान छ, तर यो व्यवहार प्रति म असहमत छु ।’ उनले पोष्ट गरेको भिडियोमा सञ्जीव पुनले कमेन्ट गरेका छन् ।’

अब पदबाट राजीनामा दिनुपर्छ।’ प्रधानाध्यापक भाको १ महिना नपुग्दै खुलेआम राजनीतिक नारा लगाएपछि उनी विरुद्धमा नकारात्मक कमेन्ट गर्नेको लर्को लागेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता अर्का एक वाइसियल नेपालका केन्द्रीय सदस्य लोकेन्द्र रानाले भने पुनको समर्थन गर्दै उनको बारेमा राम्रो प्रतिक्रिया लेखेर भिडियोसहित पोष्ट गरेका थिए । उनी पनि स्वयम् कार्यक्रममै सहभागी भएका थिए ।

पोष्ट गरेको भिडियोमा शिक्षकको आचारसंहिताका बारेमा विभिन्न आलोचना तथा नकारात्मक कमेन्ट आउन थालेपछि उनले उक्त भिडियो अहिले हटाएका छन् । प्रधानाध्यापक पुनले भने शनिवार भएकाले आफू माओवादीले आयोजना गरेको कार्यक्रममा सहभागी भएको प्रतिक्रिया दिए। उनले आफू एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय परिषद् सदस्य भएकाले कार्यक्रममा विशेष अतिथि भएर गएको बताए।

उनले शिक्षक पनि बिदाको दिनमा पार्टीको कार्यक्रममा सहभागी हुन मिल्ने दाबी गरे। आफू पनि गाउँमा आफ्नै पार्टीको कार्यक्रम भएकाले सहभागी गएर नाराबाजी गरेको बताए । यसबारेमा बुझ्न खोज्दा शिवालय गाउँपालिकाका शिक्षा शाखा प्रमुख मानबहादुर बस्नेतले भने कुनै पनि शिक्षक पार्टीको कार्यक्रममा सहभागी हुनु गलत भएको बताए।

‘बिदाको दिन होस या अन्य दिन शिक्षक पार्टीको कार्यक्रममा सहभागी हुन मिल्दैन,’ उनले भने, ‘विद्यालयका प्रअ मात्रै होइन कुनै पनि शिक्षक पार्टीको कार्यक्रममा सहभागी हुनु भनेको गलत हो, चाहे त्यो शनिवार होस्, या आइतबार नै किन नहोस्। उनले भने, ‘यो त धेरै नै अराजक गतिविधि भयो, शिक्षक पेसामा संलग्न भएर यतिसम्म गर्न मिल्दैन।’

प्रमुख बस्नेतले प्रअ पुनसँग स्पष्टीकरण समेत लिने बताएका छन् । शनिवारबाट सत्तारुढ दल माओवादीले देशभर ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियानु सुरु गरेको छ । उक्त अभियानमा जाजरकोटका धेरैजसो शिक्षकहरू सहभागी भएको स्थानीयहरू बताउँछन्।

भिडियो हेर्नुहोस् ।

प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार