आशा विक, रुकुम पश्चिम । रुकुम पश्चिममा असोज ११ देखि २१ गतेसम्म सांस्कृतिक तथा व्यापारिक महोत्सव लाग्ने भएको छ । आइतबार मुसिकोट खलङ्गामा पत्रकार सम्मेलमा मार्फत बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा फैलिएको स्यार्पु तालमा गाउँपालिकाको आयोजना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको व्यवस्थापनमा महोत्सव गर्न लागिएको जानकारी दिएएको छ ।
राष्ट्रिय कलाकारको प्रस्तुति र व्यापारिक स्टलसहितको ठूलो महोत्सव आयोजना गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिए । स्यार्पुमा विगत १३ वर्षदेखि खेलकुद र स्थानीय झाँकी तथा नाचगानसहित मेला लाग्दै आएको छ ।
स्यार्पु तालमा पहिलो पटक २०६७ साल असोज ११ देखि १५ गतेसम्म स्यार्पु महोत्सव लागेको थियो । त्यसैको सम्झनामा स्यार्पुमा हरेक वर्ष एक साताको महोत्सव हुने गरेको छ । स्यार्पु तालको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष देवकोटाले बताए ।
कलाकारका विषयमा अझै छलफल चलिरहेकालेपछि जानकारी गराइने उनले बताए । त्यस्तै महोत्सवमा विभिन्न व्यापारिक स्टलहरू रहने छन् भने भलिबल लगायतका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार स्थानीय झाँकीहरू समेत महोत्सवको आकर्षण हुने छन् भने स्थानीय उत्पादनलाई प्राथमिकता दिइने छ ।