२०८३ जेठ ५ , मंगलबार

शहरमा सुनको चर्चा, गाउँमा भने नुनको अभाव



पूर्ण कुमार, डोल्पा । सङ्घीय राजधानी काठमाडौँमा सुनको चर्चा भइरहँदा हिमाली जिल्ला डोल्पामा भने नुनको अभाव हुन थालेको छ । हिन्दुहरूको महान् चाड विजया दशमी तथा तिहारको मुखैमा नुनको अभाव हुन थालेपछि डोल्पावासी चिन्तित भएका हुन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ का स्थानीयले नुन लिन सदरमुकाम जानुपर्ने भएपछि समस्या भएको गुनासो गरेका छन् ।  सदरमुकाम दुनै स्थित साल्ट ट्रेडिङले प्रति परिवार २ पोकाका  दरले नुन बिक्री गर्दै आइरहेको छ । सरकारले सहुलियत दरमा अनुदान दिएको २ पोका नुन खरिद गर्न दुईदेखि तीन हजार रुपैयाँ सम्म खर्च हुने गरेको स्थानीय राजीमान बुढाले बताए ।

यसरी हेर्दा एक केजी नुनको मूल्य एक हजार रुपैयाँ बराबर पर्ने गर्छ । साल्ट ट्रेडिङ डोल्पा डिपोको अनुसार भनेजति नुन दिएको खण्डमा डोल्पामा नुन नै अपुग हुने भएका कारण सबैलाई मिलाएर दिन परेको हो । अहिले डोल्पामा साल्ट ट्रे डिङको एउटा डिपो सहित ५ ओटा बिक्री केन्द्र रहेका छन् । यी पाँच वटै विक्री केन्द्रमा नुनको ढुवानी नभएपछि अभाव भएको हो ।

नुनको कोटा थप गर्न सम्बन्धित निकायसँग माग गरेको साल्ट्र ट्रेडिङ डिपो कार्यालय डोल्पाका प्रमुख प्रकाश बहादुर धामीले बताए । साल्ट ट्रेडिङ डोल्पा डिपोका अनुसार डोल्पाको नुनको लागि ठेक्का आह्वान भई नुन ढुवानी प्रक्रियामा गएको र दसैँ तिहारपछि मात्रै नुन डोल्पा पुग्ने प्रमुख धामीले जानकारी दिए ।

यता त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायाले नगरपालिकाभरि नुनको अभाव हुन थालेपछि साल्ट ट्रेडिङ जुफाल विक्री केन्द्रबाट ५० क्विन्टल नुन ल्याउन लागेको बताए । नगरपालिकामा नुन ल्याएसँगै नगरवासीलाई सहुलियत दरमा अनुदानको नुन बिक्री गर्ने समेत नगर प्रमुख रोकायले बताए ।

 

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार