कल्पना हमाल, सुर्खेत । पछिल्लोसमय सुर्खेतमा अटो रिक्सामै बलात्कार हुनेको संख्यामा वृद्धि भएको छ । गत भदौ १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले अछामका एकजना अटो चालकलाई बलात्कार गरेको आरोपमा पक्राउ ग¥यो ।
अछामको पञ्चदेवल विनायक घर भई हाल सुर्खेतमा अटो चलाइरहेका सुरेन्द्रबहादुर शाहीलाई पक्राउ गरेको हो । उनले दैलेख घर भएकी १५ वर्षीया बालिकालाई होटेलमा लगेर बलात्कार गरेका थिए । उनले बालिकालाई बलात्कार मात्रै गरेनन् मारिदिने योजना समेत बनाएका थिए । ती बालिका दैलेखबाट पढाईको सिलशिलामा सुर्खेत आएकी थिइन् । उनको फुपुको घर वीरेन्द्रनगरमा थियो ।
वीरेन्द्रनगरमा पहिलोपटक झरेकोले फुपुको घर थाहा नपाएकी उनलाई अटो चालक सुरेन्द्रले फुपुको घर पु¥याईदिने भन्दै होटेलमा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । यस्तै, असोज ६ गते सुर्खेतको काँक्रेविहार जंगलमा लगेर दैलेखका एकजनाले १३ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बलात्कार गर्ने दैलेखको चामुण्डा बिन्द्राशैनी नगरपालिका–३ पानीखोला घर भएका २५ वर्षीया भक्तिराम कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ । यसरी सुर्खेतमा मात्रै नभई कर्णाली प्रदेशमा बलात्कार गर्नेको संख्या पछिल्लोसमय बढ्दै गएको छ । सुर्खेतमा गत आर्थिक वर्षमा मात्रै ८७ वटा जबरजस्ती करणीका घटनाहरु भएका छन् ।
चालु आर्थिक वर्ष सुरु भएदेखि असोज १७ गतेसम्म २७ वटा जबरजस्ती करणीका घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । त्यसमा पनि प्रायः महिला तथा बालिका आफ्नै दाइ, भाइ, आफन्तनजिकका छिमेकी र नातेदारबाट पीडित भएका छन् । घटना धेरै भएपनि कतिपय समाजमा जघन्य अपराधलाई ढाकछोप गर्ने र समुदाय मै मिलाउने गरिएकाले पनि घटनाहरु बाहिर कम आउने गरेको प्रहरीको भनाइ छ ।
यता, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता गोपालचन्द्र भट्टराईले वलात्कारजस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न महिलाहरुलाई विशेष सचेत गराउनुपर्ने बताए । महिलाहरु अर्काको सवारीसाधनमा बस्दा सचेत हुनुपर्ने, अपरीचित व्यक्तिसंग बस्ने घुम्नेलगायतका कार्य नगरेमा बलात्कार कम हुने उनको भनाई छ । साथै उनले कुनैपनि व्यक्तिबाट त्यस्तो हुने संकेत देखेमा प्रहरीलाई खबर गर्नपनि आग्रह गरे ।
किन हुन्छ बलात्कार ?
बलात्कार किन हुन्छ भन्ने खास उत्तर त अहिलेसम्म सजिलोसँग कसैले दिन सकेको छैन। तैपनि प्रहरीले मानसिक विचलन र मानसिक रोग, शिक्षा र चेतना, प्रलोभन अवसर जस्ता कारणले बलात्कार हुने गरेको तथ्याङ्गक रहेको छ ।
परीक्षामा पास गराईदिने प्रलोभन, जागिर वा विभिन्न क्षेत्रमा जस्तैः नर्सिङ, पुलिस, सरकारी अफिस, प्रतियोगितामा नाम निकालिदिने प्रलोभनका साथै विभिन्न अवसरका कुराहरूमा पनि महिलाहरू यौन हिंसामा पर्न वाध्य भएका प्रहरी अधिकारीहरु बताउँछन् ।
यसैगरी, नैतिक शिक्षा, यौन शिक्षा र चेतनाको कमीका कारण पनि महिलाहरु धेरै बलात्कृत हुने गरेको तथ्यांक छ। बाबुले आफ्नै छोरीलाई बलात्कार गरेका घटनाहरू भैरहदापनि चेतनाको कमी र आत्म सुरक्षाका उपायहरु नअपनाउदा दिनहुँजसो बलात्कारको घटना घटिरहेका छन् ।