जाजरकोट । शिवालय गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो । ‘चाडपर्वमा गाउँपालिकाभित्र व्यवसाय सञ्चालन गर्ने होटेल व्यवसायीहरू तथा मदिरा बिक्री वितरण गर्ने पसलहरू बेलुका ६ः३० देखि राति ८ः३० बजेसम्म मात्र सञ्चालन एवम् खुल्ला रहने अनुमति दिएको र सोभन्दा पछि पूर्ण रूपमा बन्द गरिएको सूचनामा भनिएको छ ।’
मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधि निरुत्साहन गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले उक्त निर्णय गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए । ‘होटेल व्यवसायी र मदिरा व्यवसायीलाई चाडबाडमा मदिरा बिक्री वितरण गर्न करिब २ घण्टाको मात्रै समय दिएको छ’ उनले भने, ‘सोभन्दापछि पुर्णरुपमा बन्द गरिएको छ, सोहीअनुसार सबैले नियम पालना गर्नुपर्ने छ ।’
साथै पालिकाले जुवातास खेल्ने/खेलाउने, कोही कसैले अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानुन मिच्ने, गुणस्तरीय बस्तु बिक्री वितरण गर्ने, तोकिएको भन्दा बढी गाडी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु चढाउने र कालोबजारी गर्ने जस्ता गैरकानुनी काम नगर्न र नगराउन पनि आग्रह गरेको छ । यदि उक्त गतिविधि भएको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने पालिकाले चेतावनी दिएको छ ।
