
आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसी
सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले सुर्खेतको सडक पेटीमा जुत्ता सिलाएर गुजारा चलाउँदै आएका विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् । मन्त्री जिसीले आफ्नै खर्चमा स्वास्थ्य बिमा बनाइदिएर स्वास्थ्य बिमा परिचय पत्र विपन्न परिवारलाई हस्तान्तरण गरेका हुन् ।
पूर्व जनमुक्ति सेना समेत रहेका हाल सुर्खेत सडक पेटीमा जुत्ता सिलाउने काम गर्दै आएका ऐविन कुमार सार्कीको परिवारको स्वास्थ्य बिमा बनाएको मन्त्री जिसीले जानकारी दिए । सार्कीसहित श्रीमती डिला सार्की छोराछोरीहरू पुष्कर सार्की, दिलमाया सार्की र पार्वती सार्कीको संयुक्त रुपमा स्वास्थ्य बिमा बनाइएको हो ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ घर भई हाल वीरेन्द्रनगर सुर्खेतमा बसेर सडक पेटीमा जुत्ता सिलाउने काम गरेर सार्कीले आफ्नो जीविका चलाउँदै आएका छन् । मन्त्रीले स्वास्थ्य बिमा बनाइदिए पछि सार्कीले खुसी व्यक्त गर्दै अब उपचारमा सजिलो हुने बताए ।
‘सडक पेटीमा जुत्ता सिलाइको काम गरेर सुर्खेतमा पाँच जनाको परिवार पाल्ने, केटाकेटी पढाउने काम गर्न समस्या भइरहेको छ, हाम्रा कानुन मन्त्री ज्यूले स्वास्थ्य बिमा बनाइदिनु भएको छ ।’ सार्कीले भने, ‘मन्त्री ज्यू जनयुद्धमा हाम्रो कमान्डर पनि हो, अहिले पनि सरकारमा भएर पनि कमान्डर जस्तै भएर काम गर्नुभएको छ, मलाई असाध्यै खुसी लागेको छ ।’