२०८३ जेठ ४ , सोमबार

रुकुमपश्चिम घटना : लोकेन्द्रले पाएका थिए राष्ट्रपतिबाट कैद मिनाहा !

२५ दिनमै गरे महिलाको हत्या


सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा लिएर महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका एक पुरुषलाई प्रहरीले सार्वजनिक गरेको छ । सानीभेरी गाउँपालिका–९ सिम्ली बस्ने ३३ बर्षिय लोकेन्द्र बिक भनिने लोकबहादुर बिकलाई प्रहरीले मंगलबार पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको आरोपमा लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए । बुधबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरेर हत्या आरोपी लोकबहादुरलाई सार्वजनिक गरिएको हो ।

मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । मृतकको घाँटी रेटेर हत्या गरिएको डिएसपी भट्टराईले बताए । प्रहरीले बिकको साथबाट मोबाइल एक थान र नगद ७५ हजार आठ सय ३५ रुपैयाँसमेत बरामद गरेको छ ।

हत्या भएको कोठाबाट रगत जस्तो पदार्थ लागेको चक्कु १ थान, कोठामा रहेको डस्बिनबाट चक्कुको खोल १ थान बरामद भएको प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । मंगलबार साँझ तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली आएपछि मुचुल्का बनाएर शव उठाइएको थियो । ‘घाँटी रेटेर हत्या गरेको देखिएको छ,’ प्रहरी नायव उपरीक्षक भट्टराईले भने, ‘घाँटीको अधिकांश भाग रेटिएको छ ।’ शरीरका अन्य कुनै भागमा भने चोट नदेखिएको उनले बताए ।

आर्थिक लेनदेनको कारोबारका कारण हत्या !
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार देखिएको जनाएको छ । ‘ठूलो पैसाको कारोबार देखिन्छ, प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार नै देखिन्छ,’ प्रहरी नायव उपरीक्षक भट्टराईले भने ।

‘कल डिटेल र अन्य कुरा हेर्ने हो भने उनीहरूका बिचमा अवैध सम्बन्ध पुष्टि हुन्छ, दुवैका बिचमा आर्थिक कारोबार समेत भएको पाइएको छ, त्यसैका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, डिएसपी भट्टराईले भने ।’

भावनाले विवाह गरौँ भनेपछि आफूले घटना घटाएको लोकबहादुरले बयान दिएको उहाँले जानकारी गराउनुभयो । त्यस्तै लोकबहादुरले भावनालाई उनका श्रीमान् विदेश जाँदा ५ लाख रुपैयाँ सापटी दिएको समेत बताएको डिएसपी भट्टराईले बताए ।

लोकबहादुरले राष्ट्रपतिबाट माफी पाएका थिए
गत असोज ३ गते संविधान दिवसका अवसरमा लोकबहादुरले राष्ट्रपतिबाट कैद माफी पाएका थिए । उच्च अदालत सुर्खेतले २०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाईएका लोकबहादुर २०७९ फागुन १४ गते कैद परेका थिए । अन्तिम फैसला नहुँदा त्यसअघि उनले २४ दिन कैद भुक्तान गरेका थिए ।

२०८० माघ १९ गते कैदमुक्त हुुनुपर्ने लोकबहादुरलाई ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भनी राष्ट्रपतिबाट बाँकि कैद मिनाहा गरिएको थियो । कैदभुक्तान गर्न ३ महिना २३ दिन बाँकी रहँदै कैदमुक्त भएका लोकहादुरले कारागारबाट निस्केको २५ दिनपछि महिलाको हत्या गरेका हुन् ।

प्रहरीले लोकबहादुर बिरुद्ध कर्तव्य ज्यान मुद्धा शिर्षकमा मुद्धा दर्ता गरेर थप अनुसन्धान अघि बढाएको जनाएको छ । उनले ६ महिना कैद भुक्तान गर्दै गत बाँकी कैद सजाय मिनाहा भएपछि रिहा भएका थिए । उनी बहुविवाहको मुद्दामा दोषी करार हुँदै ११ महिनाका लागि कारागार चलान भएका थिए ।

निर्वाचनका क्रममा भएको थिये चिनाजान
उनीहरूका बिचमा गत स्थानीय तहको निर्वाचनका क्रममा चिनाजान भएको पाइएको छ । २०७९ को वैशाखमा भएको स्थानीय तहको निर्वाचनका क्रममा भावना म्यादी भएको र प्रहरी चौकी सिम्लीमा खटिएका बेला उनीहरूका बिचमा चिनजान भएको र त्यसपछि सम्बन्ध सुरु भएको भेटिएको प्रहरी प्रमुख डिएसपी भट्टराईले बताए ।

म्यादी भएका बेला भावनाले लोकबहादुरको होटेलमा खाना खाने गरेको र त्यसपछि चिनजान भएको देखिन्छ, डिएसपी भट्टराईले भने । भावना लोकबहादुरलाई भेट्न २ पटक जिल्ला कारागार पुगेको पाइएको पनि डिएसपी भट्टराईले जानकारी बताए ।

प्रकाशित मिति : २०८० कात्तिक १ गते बुधबार