सुर्खेत । जिल्ला प्रशासन कार्यालय डोल्पाको सभाहलमा बिहीबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकले जुफाल विमानस्थलमा हवाई टिकट वितरणमा भइरहेको बेथितीलाई ब्यवस्थित गर्नुपर्नेमा जोड दिएको छ । ठूलिभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण बुढाको समन्वयमा प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालको अध्यक्षतामा सर्वपक्षिय सर्वदलिय बैठक सम्पन्न भएको हो ।
डोल्पाको जुफाल विमानस्थलमा हवाई टिकट वितरण गर्दा एयरलाइन्सहरुले विहान ६ बजेदेखि दिउँसो २ बजेसम्म टिकट काउन्टरमा बसि हवाई सिट संख्याको आधारमा टिकट वितरण गर्नुपर्ने, सरकारी तथा निजी एयरलाइन्सले प्रत्येक उडानमा दुई वटा सरकारी सिट छुट्याउनु पर्ने र सरकारी स्वमित्वको नेपाल एयरलाइन्सले हप्ताभर हुने उडानको एकमुष्ट समय तालिका सार्वजनिक गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै गरी विमानस्थलको ट्रमिनल भवनसम्म सडक नपुगेकाले यात्रुहरुलाई लगेज तथा सामानहरु ओसार्न सास्ती ब्यहोर्नु परेकोले ट्रमिनल भवनसम्म जीप सेवा सञ्चालन गर्ने गरी नगरले समन्वयकारी भूमिका खेल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । जुफाल विमानस्थलमा हवाई टिकटमा सम्बन्धित एयरलाइन्सका कर्मचारीको सिण्डीकेटका कारण नागरिकको पहुँच हवाई टिकटसम्म नपुगिरहेको अवस्थामा सर्वदलिय सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयनमा आए सर्वसाधारणमा राहत पुग्ने छ ।
साथै बिहीबार बसेको सर्वपक्षीय बैठकमा जिल्ला भित्र सञ्चालन रहेका यातायातको भाडादरको विषयमा छलफल गरिएको छ । भाडादरको हिसाबमा जिल्ला भित्र सानो जीपमा प्रतिकिलो मिटर २७ रुपैयाँका दरले लिने पहिलाको निर्णय नै लागू हुने निर्णय समेत गरिएको छ ।
यातायात व्यवसायीहरुले तोकेको समयमा गाडी छुटाउनु पर्ने,तोकेको भन्दा महंगो भाडा नलिने, जिल्लामा सञ्चालित सार्वजनिक यातायात व्यवसायीहरुले मंसिर महिनाभित्रमा यात्रुमैत्री सुरक्षित र भरपर्दो बनाउन ब्लुबुक नवीकरण, जाँचपाँच नवीकरण, रुटपरमिट नवीकरण, यात्रु बीमा जस्ता सबै मापदण्ड पूरा गर्ने, सम्पूर्ण यातायात व्यवसायीहरुले जीपभित्र सिट क्षमता अनुसार मात्र यात्रु राख्ने, यात्रुहरुको टिकट अनिवार्य रूपमा लागू गर्ने जस्ता निर्णय गरेको छ ।