२०८३ जेठ ७ , बिहीबार

श्री एअरलाईन्सले पायो काठमाडौँ–सुर्खेत उडानको अनुमति



सुर्खेत । श्री एअरलाईन्सले काठमाडौं सुर्खेत उडानको लागि अनुमति पाएको छ । उक्त एअरलाईन्सले अनुमति पाएसँगै आगामी साताबाट सुर्खेत निरन्तर उडान भर्ने जनाएको छ । वुद्ध एअर भन्दा अघि नै परीक्षण उडान सुरु गरेको श्री एअरलाईन्सले काठमाडौं–सुर्खेत उडानको बिहीबार मात्र अनुमति पाएको हो ।

दुई वर्ष भन्दा पहिले सुरुमा सुर्खेत विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको श्री एअरलाईन्सले गत डेढ वर्ष अघिदेखि सुर्खेतमा उडान गरेको थिएन । बिहीबार एअरलाईन्सले ८० सिटे जहाज उडाउने अनुमति पाएसँगै सुर्खेत काठमाडौं जहाज चढ्न कर्णालीका नागरिकलाई सस्तो भाडा पर्ने सम्भावना बढेको हो ।

‘अनुमति पाएर पनि अब अर्को हप्तादेखि उडान गर्छु भनेर उहाँहरूले भनिरहनुभएको छ,’ सुर्खेत विमानस्थलका प्रमुख राजनराज ढुङ्गेलले भने, ‘यहाँ अफिस सेटअप गर्दै हुनुहुन्छ । कतिखेर राख्ने भन्ने कुरा पनि अहिले भएको छैन ।’

उक्त जहाजका लागि सुर्खेत विमानस्थलमा भने फुल क्यापेसिटी छैन । ढुङ्गेलका अनुसार रनवे अलि सानो भएकाले समस्या चाहिँ छ । सुर्खेत विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले १ हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन समस्या छ ।

प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार