रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको वडा न १० परिकोटको भित्री सडक स्थित च्यारीगाउँ खोला नजिकै ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठविसकोट – ८ स्थित घर्तीगाउँका जाँदै गरेकोे रा १ द १४ नम्बरको ट्याक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो ।
ट्याक्टरमा भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको जनाइएको छ । दुर्घटनामा परी आठविसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए ।
यस्तै दुर्घटनामा आठविसकोट–१० स्थित डाँडा भन्ने स्थानका ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले निकालेको विज्ञप्तिमा जनाइएको छ । सो दुर्घटनामा अन्य नौ जना घाइते भएका छन् ।
घाइते हुनेमा आठविसकोट–८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठविसकोट – १० का ३८ वर्षीय रमेश सार्की, आठविसकोट – ८ का १४ बर्षीय दलबहादुर पुन, ५६ वर्षीय कुमारघर्ती, ३४ वर्षीया रमा गुरुङ, ५१ वर्षीय जगवीर सार्की, ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की, ४२ वर्षीय मदन पुन छन् ।
घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त ट्याक्टरका चालक आठविसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।