२०८३ वैशाख १४ , सोमबार

अध्ययनसँगै सीप र कलालाई जोड दिने उदाहरणीय विद्यालय एसिया



सुर्खेत । विद्यालयमा भर्ना भएका बालबालिकाहरूलाई कसरी टिकाउने, निजी विद्यालय र सामुदायिक विद्यालयहरूबीचको शिक्षण सिकाइमा कसरी एकरूपता ल्याउने रु सामुदायिक विद्यालयहरू कमजोर र बन्द हुँदै गए भने के हुन्छ रु निजी विद्यालयहरूविरुद्ध आन्दोलन गर्न जरुरी छ कि छैन रु भन्ने विषय र सन्दर्भ यतिबेला चर्चाको विषय बन्ने गरेको पाइन्छ ।

तर जुम्लामा एक यस्तो निजी विद्यालय जहाँ किताब मात्रै होइन, सीपमूलक शिक्षा पनि दिइँदै आएको छ । चन्दननाथ नगरपालिका वडा नं ५ मा २०७२ सालदेखि सञ्चालनमा आएको एसिया इन्टरनेशनल बोर्डिङ स्कुलमा ८ कक्षासम्म पढाई हुन्छ भने उक्त विद्यालयले सीपमूलक शिक्षा पनि दिँदै आएको छ । उक्त विद्यालय किताबी ज्ञान मात्रै नभइ उद्यमशीलता र संस्कारमा अधारित शिक्षा दिँदै उदाहरणीय बनेको छ ।

जुम्ला गुठीचौर गाउँपालिका-७ निवासी १६ वर्षीय छक्क अधिकारी सीप, कला र बहुप्रतिभाका धनीको रुपमा अहिले उदाएका छन् । उनले विद्यालयसँग जोडिएको एम्स मल्टी म्यानुफ्याक्चरिङ कम्पनीमा विभिन्न प्रकारका मेसिन सामग्रीहरु बनाउँदै आएका छन् । छक्कले आफूलाई त्यस विद्यालयले खाना बस्ने सुविधा दिएपछि पढ्न सजिलो भएको बताए ।

उनले भने, ‘विद्यालयले अध्ययनसँगै सीप कलामा जोड दिएपछि जीवनमा निकै परिवर्तन महसुस भएको छ ।’छक्कले एसिया स्कुलमै बसेर आफूले इन्टरलक इँटा बनाउने मेसिन आविश्कार गरेको बताए । उनी भन्छन्, ‘यहाँ पहिले ल्याएको मेसिन बिग्रेको थियो ।

आफैंले नयाँ मेसिन बनाउने प्रयास गर्दा गर्दा सफल भएँ । अहिले त विभिन्न प्रकारका धेरै मेसिन बनाएको छु । पढाइसँगै सीप र कलालाई अगाडि बढाउने इच्छा थियो । एसिया स्कुलमा जोडिएपछि पूरा भएको छ ।’ उनले अहिले एम्स कम्पनीलाई आवश्यकता अनुसारको मेसिनहरु आफूले बनाउने गरेको बताए ।

उनले भने, ‘अहिले पनि म एसिया स्कुलको आवासगृहमा बसेर विद्यालय समयमा रत्नचुडेश्वर मा।वि।मा कक्षा दशमा अध्ययन गरिरहेको छु । छक्कले आधारभूत शिक्षा एसिया स्कुलबाट पूरा गरेर माध्यामिक तहको शिक्षाका लागि रत्नचुडेश्वर मा।वि।मा पढ्दै गरेको एसिया स्कुलका सञ्चालक मनोज बुढाथोकी मगरले बताए । उनका अनुसार छक्क एक बहुप्रतिभाशाली विद्यार्थी हुन् ।

उनले भने, ‘छक्क शुरुमा विद्यालय आउँदा गीत गाइरहने हुँदा संगीतको क्षेत्रमा अगाडि बढाउनुपर्छ भन्ने लागेको थियो । त्यस कारण छक्कलाई उपनामले संगीत पनि भन्ने गरिएको छ । तर पछि उनी सीपका पनि धनी निस्किए ।’उनले अहिले लाखौं मूल्य बराबरको भूकम्प प्रतिरोधी स्लाइडिङ इन्टरलक मेसिन बनाएका छन् ।

अहिले एम्स मल्टी म्यानुफ्याक्चरिङ कम्पनीमा सोही मेसिनमार्फत इँटा उत्पादन भइ जुम्लामा भूकम्प प्रतिरोधी घरहरु निर्माण भइरहेका छन् । मनोजले थपे, ‘छक्कको सीपपछि एसिया स्कुलले अहिले बालबालिकाका लागि एउटा सीप सिक्ने उद्योग अन्तर्गत अनुसन्धान केन्द्र बनाएको छ ।

त्यहाँ पानी तान्ने मेसिन, बिजुली उत्पादन गर्ने मेसिन, फलाम काट्ने मेसिनसहित विभिन्न मेसिनहरु नयाँ बनाउने र बिग्रेका पनि बनाउने गरिएको छ । छक्कको बहुप्रतिभा देखेर एसिया स्कुलले उनलाई निस्शुल्क बसाइँ, अध्ययनमा लगानी पनि गरिरहेको छ ।

कसरी प्रतिभाशाली भए छक्क ?

छक्ककी आमा स्यानु अधिकारी २०७२९०७३ सालमा छोरालाई कुन विद्यालयमा कसरी पढाउने भन्ने चिन्तामा थिइन् । उनले जुम्ला सदरमुकामदेखि २ घण्टा टाढा गुठीचौर गाउँपालिका थामबाडाबाट अध्ययनका लागी छोरालाई सदरमुकाम खलंगा पठाएकी थिइन् । उनले भनिन्, ‘आज भन्दा सात वर्ष अगाडि चन्दननाथ नगरपालिका ५ मा रहेको एसिया स्कुलमा ३ कक्षामा भर्ना गरिएको हो ।

तर छोराले अहिले नै गाडि तथा मोटरसाइकल चलाउने सीप पनि सिकिरहेको छ । एसिया स्कुलले अहिले छोरालाई अभिभावकत्व प्रदान गरेको छ । मलाई छोराले गरिरहेको प्रगति हेर्दा खुसी लागेको छ ।’

विद्यालयमा आफना छोराछोरीलाई पढाएर सेना, प्रहरी, शिक्षक, कर्मचारी बनाउने भन्ने सबैको इच्छा रहेको पाइन्छ । अबको शिक्षा जागिर खानाका लागि मात्रै नभइ सीप सिकाएर उनीहरुको दैनिकी परिवर्तनतर्फको हुनपर्छ भन्ने मुख्य उद्देश्य रहेको एसिया स्कुलले बताएको छ ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार