
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का
सुर्खेत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राजनीतिक आस्था फरकफरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुनपर्ने बताएका छन् । शुक्रबारदेखि वीरेन्द्रनगरमा शुरु भएको ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी सबैको रहेकाले विकासका एजेण्डालाई एकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए । राजनीतिज्ञले जनताको साथ लिएर सम्पूर्ण शक्ति प्रयोग गरी एकताबद्ध भइ विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको मन्त्री खड्काको भनाइ छ ।
नेतृत्व लिने कुरा महत्वपूर्ण नभएको भन्दै उनले कमजोरीलाई स्वीकार गरी नयाँ संकल्प र विश्वासका विकासका लागि एकजुट हुन आग्रह पनि गरे । प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान तथा अन्य विकास निर्माणमा कुनै विवाद नभएको उनले उल्लेख गरे ।
उनले जलस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेको समेत सो अवसरमा जानकारी दिए । “जलविद्युत् क्षेत्रका लगानीकर्ताका लागि बजारको सुनिश्चितता हुने गरी काम भएका छन्”, उनले भने, “यसमार्फत कर्णालीको विकासमा सहयोग पुग्नेछ ।” दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णाली प्रदेशले सबैको प्रयासमा सफलतापूर्वक सम्पन्न गर्न उनको सुझाव थियो ।
उनले रंगशाला निर्माणका लागि धन्यवाद दिँदै खेलकुदसम्बन्धी संरचना निर्माणका लागि संघीय सरकारले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाए । ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमको सहभागिता भएका छन् ।
प्रतियोगिताका लागि आर्थिक सहयोग कर्णाली प्रदेश सरकार गर्नेछ भने व्यवस्थापकमा कर्णाली प्रदेश भलिबल संघ रहेको संघका कर्णाली प्रदेश अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए । यस प्रतियोगितामार्फत राष्ट्रिय टिम छनोट हुनेछ । खेलाडी व्यवस्थापन संघले गर्नेछ । यसअघि २०५५ सालमा सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना भएको थियो ।