हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ छिप्रा गाउँमा एक घरमा आगलागी भएको छ । छिप्रा गाउँका प्रकाश सिंहको घरमा बिहान करिब १० बजे विजुलीको तार सट भएर आगो लागेको स्थानीय जल बहादुर सिंहले बताए ।
दुई तले घरको माथिल्लो तला आगोले पूर्णरुपमा नष्ट भएको छ भने तलको तलामा केही क्षति पुगेको घर धनी प्रकाश सिंहले बताए । बिहान करिब १० बजे लागेको आगो करिब ११ बजे नियान्त्रणमा लिइएको प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले बताए ।
प्रहरी निरीक्षक चन्दका अनुसार आगलागीका कारण करिब ४५ लाख ३२ हजार रुपैयाँ बराबरको क्षेति भएको बताए । घरमा भएका लत्ताकपडा, अन्नपात, फर्निचरलगायतका सामान जलेर नष्ट भएको छ ।
आगलागीबाट घरमा क्षति पुगेपछि अहिले प्रकाश सिंहको घर परिवार अर्काको घरमा बस्दै आएको स्थानीय लोकेन्द्र हमालले बताए । छिप्रा गाउँका स्थानीय र जिल्लाबाट खटिएको नेपाल प्रहरीको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।