२०८३ वैशाख १४ , सोमबार

कर्णालीमा १४ लाख पशुलाई पिपिआर खोप लगाईने



कुलेन्द्र शाही, सुर्खेत कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय पिपिआर खोप अभियान सुरु भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय सुर्खेतको आयोजना तथा पशुपन्छी विकास निर्देशनालयको व्यवस्थापनमा मङ्गलवारबाट उक्त अभियान सुरु भएको हो ।

अभियानको एक कार्यक्रमका बिच कर्णाली सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले निर्देशनालयका डाक्टर प्रतिभा श्रेष्ठ र सोबिना मल्ललाई भ्याक्सिन हस्तान्तरण गरी शुभारम्भ गरेका हुन् ।

बराहताल गाउँपालिका–८ भुटुकेका किसान पदमबहादुर शाहीको गोठबाट अभियानको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री शर्माले सन् २०३० सम्म नेपालभर पिपिआर रोग पूर्णरूपमा निर्मूल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले पहिलोपटक कर्णालीको पशुधन सुरक्षाको लागि हिमाली र पहाडी क्षेत्र गरी दुई चरणमा खोप अभियान सञ्चालन गरिएको बताए ।

उनले पहिलो चरणमा सुर्खेत, जाजरकोट सल्यान, दैलेख र रुकुम पश्चिममा सञ्चालन भएको र दोस्रो चरणमा हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सञ्चालन हुने जानकारी दिए । कर्णालीको आयआर्जनको मुख्य श्रोत कृषि र पशुपालन  भएकाले मानव स्वास्थ्य जतिकै पशु स्वास्थ्यको सुरक्षा गर्न प्रदेश सरकारले किसान गोठबाट खोप लगाउन सुरु गरेको मन्त्री शर्माको भनाइ छ ।

उनले पिपिआर खोपको अभाव नभएको बताउँदै किसानको लागि सरकारले गर्नुपर्ने सहयोग गर्न तयार रहेको आश्वासन दिए । मंगलबारबाट खोप सञ्चालन भएको छ, खोप कर्णालीमा जति पनि छ, अव रोगको लागि किसान पछि पर्नुपर्ने अवस्था छैन, तपाई लाग्नुहोस्, त्यसको लागि सरकार तयार छ,’ मन्त्री शर्माले भने,’ यहाँ बाख्रापालनको लागि उपयुक्त ठाउँ हो, यहाँबाट खसी, बाख्रा राम्रो मात्रामा निकासी हुने गरेको छ, यो अभियान मात्रै होइन सरकारले तपाइहरूलाई सहयोग गर्न खोजेको हो ।’

मन्त्री शर्माले किसानलाई राज्यले निरुत्साहन गर्ने वातावरण बनाउन नहुने बताए ।  यस्तै, पशुपन्छी विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीले यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सामूहिक खोप अभियान नै प्रभावकारी पद्धति भएको बताए ।

उनले बाख्रा पालनबाट कर्णालीलाई नमुना प्रदेश बनाउन आग्रह गरे । उनले यसका लागि निर्देशनालय अभियान र कार्यक्रममार्फत निरन्तर चलिरहेको बताए । उनले यो रोग बाख्रालाई लागेमा ५० प्रतिशतदेखि ९० प्रतिशत मृत्युदर हुने गरेको जनाए । निर्देशक पंगेनीले पिपिआर रोग भेडा र बाख्राको लागि महामारी भाइरल रोग भएको जानकारी दिए ।

‘यो रोग भेडा र बाख्राको लागि महामारी रोग हो, यदि यो रोग लाग्यो भने उत्पादन शून्य हुन्छ, मृत्युदर पनि ५० देखि ९० प्रतिशत सम्म हुन्छ,’ उनले भने, ‘ यो खोप एउटा बाख्रालाई एक वर्ष लगाएपछि तीन वर्षसम्म लगाउनु पर्दैन।’

१४ लाख बढी भेडा र बाख्रालाई खोप लगाइँदै 

कर्णाली प्रदेशमा पिपिआर खोप अन्तरगत यहाँका पाँच जिल्लाका १४ लाख बढी भेडा बाख्रालाई खोप दिन लागिएको छ । पहिलो चरणमा १४ लाख ३९ हजार बढी बाख्रालाई खोप दिने लक्ष्य राखिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए ।

उनले सम्बन्धित जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र वा स्थानीय तहमा कार्यरत भेटेरिनरी डाक्टरहरूले खोप सेवा प्रदान गर्ने जानकारी दिए ।   प्रदेशभरका कृषकहरूले स्थानीय तहको पशु सेवा शाखा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पशुपन्छी विकास निर्देशनालयमा सम्पर्क गरेर खोप सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्ने बताए ।

उनका अनुसार खोप अभियान सञ्चालनको लागि प्रत्येक जिल्लाका स्थानीय तहहरूको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत विभिन्न स्थानहरूमा खोप केन्द्रहरू निर्धारण गरिएका छन् भने प्रत्येक खोप केन्द्रहरूमा भ्याक्शिनेटर नियुक्त गरिएको छ ।

उनले सुर्खेतमा मात्रै करिब ३ लाख बढी बाख्रालाई खोप लगाउने लक्ष्य राखिएको बताए । ‘पहिलो चरणमा कर्णालीका करिब १४ लाख बढी भेडा बाख्रालाई खोप लगाइने लक्ष्य राखिएको छ, त्यहीअनुसार हामीले पाँच जिल्लामा भ्याक्सिन पठाइसकेका छौ,’ उनले भने ‘पिपिआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक सङ्क्रामक रोग हो ।

यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ, नेपालमा पिपिआर रोगका कारण वर्सेनि धेरै सङ्ख्यामा भेडा बाख्रा मरेर कृषकहरूले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ । यस्तो अवस्था आउन नदिनका लागि हामीले खोप अभियान सञ्चालनमा ल्याएको हो ।’ अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखा परेको उनको भनाइ छ ।

के हो पिपिआर खोप ? कस्तो देखिन्छ लक्षण ?

नेपालमा आर्थिक वर्ष २०५०/०५१ सालमा पहिलोपटक यो रोग देखिएको थियो । त्यसपश्चात् यस रोगको प्रभावले ठूलो क्षति बेहोर्नुपरेको थियो । त्यसपश्चात् यो खोप अभियान सञ्चालनमा आएको हो ।

यो रोग लागेका बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने, आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिँगान बग्ने, गिजा र मुखभित्र घाउहरू देखिने, बथानमा एकैपटक धेरै बिरामी पर्ने जस्ता लक्षण देखिने पशु चिकित्सकको भनाइ छ ।

यो रोग रोगी भेडा बाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको लसपस भएको दाना, घाँसपात, सोतर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट यो रोग सर्ने गर्दछ । रोगबाट बचाउन कृषकहरूले बाहिरबाट ल्याएका भेडा बाख्रालाई कम्तीमा पनि १० दिनसम्म घर गोठमा रहेका पशु वस्तु नमिसाई अलग्गै राख्ने, त्यस अवधिमा रोगका कुनै लक्षण नदेखिएमा मात्र बथानमा मिसाउने, रोगी पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार नगर्न विज्ञहरूको सुझाव छ ।

रोगी भेडा बाख्राको हेरचाह गर्ने व्यक्ति अन्य स्वस्थ्य भेडा बाख्राको हेरचाह गर्नु पर्दा हातखुट्टा धोएर तथा लुगा कपडा, जुत्ता, चप्पल फेरेर मात्र गर्ने, भेडा बाख्रालाई हरेक तीनरतीन वर्षमा अनिवार्य रूपमा पिपिआर खोप लगाउन, जैविक सुरक्षा कडाइका साथ अवलम्बन गर्नुपर्ने  विज्ञहरू बताउँछन् ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधबार