
सुर्खेत । नयाँ सत्ता समिकरणले सोमवार कर्णालीको नेतृत्व एमालेको भागमा दिने निर्णय ग¥यो । उक्त निर्णय आएपछि कर्णालीमा माओवादीभित्रै हंगामा सुरु भयो । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीको नेतृत्व एमालेलाई दिएर माओवादीले सहज बनाइदिन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले मुख्यमन्त्री राजकुमार शर्मालाई राजिनामा दिएर यहाँको नेतृत्व एमालेलाई दिन एउटा पत्र पठाए ।
पत्र आएदेखि नै कर्णालीमा माओवादीभित्रै मतभेद सुरु भयो । मुख्यमन्त्री शर्माले आफु नेतृत्व नछाड्ने दाबी गर्दै आए । केन्द्रको सहयोग पाएको एमालेले मुख्यमन्त्री शर्माले स्वतः राजिनामा दिनुपर्ने अडान राखेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ मा माओवादीसँग सहकार्य हुँदा एमालेले छाडेको भन्दै यसपटक एमाले कर्णाली संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने गरी दाहालसँग सहमति गरेका थिए ।
कर्णालीमा प्रभाव जमाएका उपहासचिव जनार्दन शर्मासँग सल्लाह नगरी एमालेलाई कर्णालीको मुख्यमन्त्री बनाउने सहमति गरेपछि यहाँ राजनीतिकले हंगामा मच्चाएको छ । उपमहासचिव शर्माले गत साता कर्णालीमा मुख्यमन्त्री छाड्न नसकिने दाबी पार्टी पदाधिकारी बैठकमा राखेका थिए । प्रधानमन्त्री दाहालले सोमबार कर्णाली प्रदेश माओवादी इञ्चार्ज कालीबहादुर मल्ल र मुख्यमन्त्री शर्मालाई मुख्यमन्त्री एमालेलाई छाड्न निर्देशन दिएका थिए ।
मौखिक निर्देशनलाई कार्यान्वयन नभएपछि मंगलबार पत्र नै पठाएर केन्द्रीय गठबन्धनको निर्णय कार्यान्वयन गर्न पुनः निर्देशन दिएका थिए । उनीहरुको आ–आफ्नै अडान रहेपछि मंगलवार बिहानदेखि विभिन्न छलफलहरु भए । तर सामान्य छलफल र केन्द्रको निर्णय मुख्यमन्त्री शर्माले नमान्ने भएपछि प्रचण्डका नजिकका पात्र कर्णालीका पुर्व मुख्यमन्त्री तथा प्रभावशाली नेता महेन्द्र शाही विवाद समाधानका लागि सुर्खेत आए ।
उनले मुख्यमन्त्री शर्माको निवासमा दिनभर छलफल गरे । छलफलमा प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा र माओवादी प्रदेश अध्यक्ष विमला समेत उपस्थित थिए । एमाले र माओवादी संस्थापन पक्षले मुख्यमन्त्री शर्मालाई राजीनामा गराउने प्रयास मंगलबार असफल रहृयो । एमालले मुख्यमन्त्री शर्माले तत्कालै राजिनामा दिनुपर्ने अडान राखेको छ ।
मुख्यमन्त्री शर्माले भने विश्वासको मत लिएर पछि मात्रै राजिनामा दिने दाबी गरेका छन् । दुबै दलको आ–आफ्नै अडानले मंगलवार अबेरसम्म पनि कुनै टुंगो लाग्न नसकेको बुझिएको छ । मुख्यमन्त्री शर्मा निवासमा बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिने र त्यसपछि मात्रै राजिनाको दिने निर्णय भएको प्रमुख सचेतक रणसिंह परियारले खबरदृष्टिलाई जानकारी दिए ।
उनले केन्द्रको निर्णयलाई हुवहु पालना गर्ने बताए । ‘केन्द्रको निर्णय आइसक्यो अब मुख्यमन्त्री ज्युले विश्वासको मत लिएर मात्रै राजिनामा दिनुहुन्छ ।’ उनले खबरदृष्टिसँग भने, ‘कि विश्वासको मत लिने पत्र दर्ता हुनुभन्दा पहिले नै केन्द्रले निर्णय गर्नुपथ्र्र्यो। जब पत्र दर्ता भयो, त्यसपछि निर्णय आयो ।,’ उनले मुख्यमन्त्री शर्माले विश्वासको मत लिएर राजिनामा दिँदा एमालेको हित हुने बताए ।
याे हेर्नुहाेस् – मुख्यमन्त्री निवासबाट बाहिरिए एमाले नेताहरू
साथै उनले आज बिहान ८ बजे पुनः बैठक बसेर ठोस निश्कर्ष निकाल्ने बताएका थिए । तर अहिलसम्म (८ः५०) बजेको समयसम्म पनि बैठक बसेको छैन । यता, एमाले दलका प्रमुख सचेतक टेकराज पछाईले भने विश्वासको मत नलिएरै राजिनामा दिनुपर्ने बताए । केन्द्रको निर्णय आइसकेपछि उहाँले आफै राजिनामा दिनुपर्ने हो, विश्वासको मत लिनुपर्ने केही कारण नै छैन्’ उनले भने ।
साथै मंगलवार बस्ने भनिएको कर्णाली प्रदेश सभाको बैठक स्थगित समेत स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि डाकिएको बैठक स्थगित भएको हो । विश्वासको मत लिएर मात्रै पदबाट बाहिरिने अडान राखेका उनी र माओवादी नेतृत्वबीच कुरा नमिल्दा प्रदेश सभा बैठक नै बुधबारसम्मलाई स्थगित गरिएको हो । बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।