२०८३ वैशाख ३ , बिहीबार

मुख्यमन्त्री निवासबाट बाहिरिए एमाले नेताहरू

प्रदेशसभाको बैठक समेत प्रभावित


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री निवासमा जारी एमालेसहितका नेताहरूको बैठकबाट एमाले नेताहरू बाहिरिएका छन् । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच मंगलबार जारी बैठकबाट एमाले संसदीय दलका नेता यामलाल कँडेल र पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट बाहिरिएका हुन् ।

छलफल सकारात्मक रहेपनि अझै टुंगोमा नपुगेको एमाले कर्णाली ईन्चार्ज भट्टले जानकारी दिए । छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालीबहादुर मल्ल, माओवादीकै प्रभावशाली नेता महेन्द्रबहादुर शाही र मुख्यमन्त्री राजकुमार शर्मासमेत सहभागी छन् ।अहिले माओवादी प्रदेश अध्यक्ष विमला केसी बैठकमा सहभागी भएकी छिन् ।

सरकारको नेतृत्वमा एमाले र माओवादी केन्द्रबिचको विवादले कर्णाली प्रदेशसभाको बैठक समेत प्रभावित बनेको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भनिएको प्रदेशसभाको बैठक मंगलबार तीन बजेका लागि बोलाइएपनि हालसम्म (४ बजे)सम्म पनि सुरु हुन सकेको छैन ।

केन्द्रले कर्णालीको नेतृत्व एमालेलाई दिन परिपत्र गरेपनि मुख्यमन्त्री शर्माले नछाड्ने अडान कायमै राखेका छन् ।

प्रकाशित मिति : २०८० चैत २० गते मंगलबार