जगदिश शाही
सुर्खेत । अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिको नयाँ नेतृत्व चयन भएको छ। सुर्खेतमा सम्पन्न संगठनको विस्तारित बैठकले हिक्मत शाहीलाई प्रदेश संयोजकको जिम्मेवारी दिँदै ३१ सदस्यीय प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरेको हो।
निवर्तमान अध्यक्ष मनसिंह शाहीको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ नेतृत्व चयनसँगै संगठनको जिम्मेवारी हस्तान्तरण गरेको हो। समितिको सहसंयोजकमा अजय बिष्ट, प्रकाश बिक र मनिशा चन्द चयन भएका छन्। त्यस्तै, कार्यालय सदस्यमा विष्णु भण्डारी, हिक्मत सिंह, एकराज वली र दिपेन्द्र वली चयन भएका छन्।
बैठकमा अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटा प्रमुख अतिथि तथा संगठनका फ्याक्सन इन्चार्ज एवं महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह विशेष अतिथिका रूपमा सहभागी थिए। युवा नेता अम्मरजङ्ग शाही, प्रकाश अधिकारी र भीमराज रेग्मीको पनि उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै विशेष अतिथि सिंहले संगठनलाई विचार, विधि, अनुशासन र एकताका आधारमा अघि बढाउनुपर्ने बताए। संगठनको शक्ति पद र नेतृत्वभन्दा विचार, प्रतिबद्धता, एकता तथा जनताप्रतिको उत्तरदायित्वमा निहित रहने उनको भनाइ थियो।
नेतृत्व परिवर्तनलाई सामान्य जिम्मेवारी हस्तान्तरणमा मात्र सीमित नगरी संगठनलाई थप गतिशील, अनुशासित र जनमुखी बनाउने अवसरका रूपमा लिनुपर्ने उनले बताए। नयाँ नेतृत्वले विद्यार्थीका मुद्दालाई प्राथमिकतामा राख्दै संगठन विस्तार र सुदृढीकरणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।
बैठकले निवर्तमान अध्यक्ष मनसिंह शाहीलाई धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।
नयाँ नेतृत्व चयनसँगै अखिल (क्रान्तिकारी) कर्णाली प्रदेश समितिले विद्यार्थीका हकहितको संरक्षण, संगठन विस्तार तथा क्रान्तिकारी आन्दोलनलाई थप सशक्त बनाउने लक्ष्य अघि सारेको छ।