
फाइल तस्विर
कुलेन्द्र शाही, सुर्खेत । यतिबेला देशका विभिन्न अधिकांस ठाउँमा डढेलो लागेको छ । चैतको सुरुवातीदेखि नै लागेको डढेलो क्रमशः बढ्दै जान थालेको छ । यसले सामुदायिक वनहरूमा मात्र नभई मानिसहरुलाई समेत विस्थापित गरेको छ । वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा मानिसहरुको उजाड भएको छ ।
यतिबेला कर्णालीका पनि अधिकांश क्षेत्रमा डढेलो लागेको छ । वनमा लागेको डढेलो गाउँमा बस्दा घर गोठ जलेर नष्ट भएका छन् । वन क्षेत्रमा जताततै डढेलो लाग्दा र आगलागी समयमै नियन्त्रण हुन नसक्दा मानवीय क्षति समेत भइरहेको छ । साथै करोडौं मूल्य बराबरका वनपैदावार नास हुनुका साथै वन्यजन्तु मरेका छन् । तर, स्रोतसाधन र बजेटको अभाव भएको भन्दै डढेलो नियन्त्रणमा सबै जिम्मेवार निकाय उदासीन देखिएका छन् ।
डढेलोले ससाना बिरुवा नष्ट हुन थालेका छन् भने घरहरु समेत पुर्णरुपमा जोखिममा परेका छन् । बुधवार मात्रै सल्यानको छत्रेश्वरी गाउँपालिका र वनगाड कुपिण्डे नगरपालिकाको विभिन्न सामुदायिक वनमा लागेको भिषण डढेलो बस्तीमा सल्किएपछि ११ घरगोठ जलेर नष्ट भएका थिए । डढेलोबाट बुधवार छत्रेश्वरीमा ७ र वनगाड कुपिण्डेमा ४ घरगोठ जलेर नष्ट भएका हुन् ।
छत्रेश्वरी ५ दियारगाउँस्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलोले दियारगाउँका थलबहादुर घर्ती, मोहन ओली, टीकाराम ओली, प्रेम ओली, धनबहादुर घर्ती, शेरबहादुर ओली, खुमबहादुर ओली र बन्गाड कुपिण्डे नगरपालिका ५ खैरागारस्थित रत्नबहादुर राना, बलबहादुर रानासहित ११ जनाको घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
बुधबार बिहानैदेखि लागेको डढेलोले केही चौपाया पनि जलेर मरेको उनले बताए । उनकाअनुसार डढेलोका कारण छत्रश्स्वरीको दियारगाउँ र वनगाड कुपिण्डे नगरपालिका ५ खैरागारका दुई दर्जनभन्दा बढी घर जोखिममा छन् । यसवर्ष डढेलोमा परी कर्णालीमा ८ जनाको मृत्यु भएको छ । कालीकोटमा दुई र डोल्पामा ६ गरी आठजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भने डढेलो परी कर्णालीमा १ सय ३ पशु चौपाया मरेका जानकारी दिएको छ ।
यस्तै कर्णालीमा ३२ हजार ८१८ हेक्टर जंगलमा डढेलो लागेको छ । सबैभन्दा धेरै सुर्खेतमा १६ हजार ६ सय हेक्टरमा डढेलो लागेको छ भने सबैभन्दा कम हुम्लामा २ सय ४० हेक्टरमा डढेलो लागेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत निरज श्रेष्ठले जानकारी दिए । उनका अनुसार कालीकोटमा २४१ हेक्टर, दैलेखमा ४४५ हेक्टर, रुकुमपश्चिममा १२३४ हेक्टर, सल्यानमा ५३२८ हेक्टर, डोल्पामा ८७३० हेक्टर जंगलमा डढेलो लागेको छ। जाजरकोट, जुम्ला र मुगुको तथ्यांक संकलन भइरहेको श्रेष्ठले बताए ।
डढेलो नियन्त्रणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका डिभिजन वन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसँग समन्वय गरेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि स्रोतसाधन अभावमा प्रभावकारी हुन सकेको छैन । सरकारी कार्यालयले डढेलो नियन्त्रणका लागि सन्देशमूलक सूचना सामाजिक सञ्जाल, पत्रपत्रिका तथा रेडियोहरुमा प्रकाशित गरेपनि त्यसले राम्रो नतिजा भने दिनसकेको छैन् ।
चैतबाट लागेको आगो अधिकांश वन–जंगलमा नियन्त्रण गर्नै नसक्ने अवस्थामा छ । कतिपय ठाउँमा जंगलभरी आगो लागेर आफै निभेको छ । डढेलोले वायुमण्डललाई प्रदूषित बनाएसँगै कतिपय मानवबस्ती नै जोखिममा परेका छन् । तर यसको नियन्त्रणका लागि वन कार्यालय, प्रदेश, संघ र स्थानीय सरकारसँग न त योजना र समन्वय छ, न बजेट नै । डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ ।
तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको देखिदैन् । डिभिजन वन कार्यालय सुर्खेतका वन अधिकृत वसन्तबावु श्रेष्ठले डढेलो नियन्त्रण गर्नुभन्दा डढेलो लाग्न नदिनका लागि सञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देश प्रसारण गर्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार ८४ प्रतिशत डढेलोका घटना मानव सिर्जित गतिविधिका कारण हुने गरेका छन् ।
यसैगरी मानिसकै लापरबाही र चोर सिकारीको कारण वनमा डढेलो लाग्ने गरेको उनले बताए । यता जिल्ला प्रहरी कार्यालय सुर्खेत प्रहरी उपरीक्षक रुपेश खड्काले स्रोतसाधन नभएकाले सबै ठाउँमा लागेको डढेलो निभाउन नसकिएको बताए । उनले प्रहरीसँग पर्याप्त मात्रामा स्रोतसाधन, जनशक्ति नहुँदा पनि आगो निभाउनमा समस्या भएको जिकिर गरे ।
‘हामीसँग स्रोत र साधन प्रर्याप्त मात्रामा छैनन्, भएपनि जनशक्ति पनि निकै समस्या भएको छ, उनले भने, ‘हामीले नगरपालिका, वन कार्यालयसँग सहजिकरण गरेर आगो निभाउने प्रयास गरेका छौ’ उनले अधिकांश आगलागीका घटना मानिसको लापरबाहीबाट हुने गरेको बताए ।
साथै उपरीक्षक खड्काले आगो लगाउने व्यक्तिहरुलाई जो कोहीले देखेमा पनि प्रहरीलाई खबर गर्न आग्रह गरे । प्रत्येक वर्ष एकै समयमा हुने विपद्मा पनि सरकारले पूर्वतयारी र समुदाय स्तरमा जनशक्ति परिचालन गर्न नसक्दा मानवीयसँगै ठूलो वातावरणीय क्षति भइरहेको छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।