२०८३ वैशाख १४ , सोमबार

मार्सीधान जोगाउन जुम्लामा रोपाइँ महोत्सव



जुम्ला । पछिल्लो समय लोप हुँदै गएको मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । विश्वको सबैभन्दा उच्च स्थानमा मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा कृषि विकास कार्यालय जुम्लाले धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको हो ।

उक्त क्षेत्र समुद्री सतहदेखि झण्डै २ हजार ८ सय ५० मिटर उचाइमा छ । महोत्सवका माध्यमबाट कालीमार्सी धानको महत्व उजागार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरणा दिनका लागि महोत्सव आयोजना गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालक देवकोटाले बताए ।

उनले भने, ‘बजारमा मार्सी चामलको महत्व बढेको छ ।  तर मार्सीधान उत्पादन गर्ने किसानको जोश जागर निकै कम छ । किसानलाई उर्जा दिन र बजारमा आएको माग पूरा गर्नका लागि किसानलाई जागरुक बनाउन धान दिवस तथा रोपाइँ महोत्सव गरिएको हो ।

सोहीअनुसार पातारासी गाउँपालिकाका स्थानीय किसानले संयुक्तरुपमा धान रोपेर महोत्सव मनाएका छन् । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले हरेक ठाउँको आफ्नो रीतिरिवाज र परम्परा हुने बताउँदै जुम्लामा भाषा, साहित्य र सभ्यतासँगै अर्गानिक रैथाने बाली उत्पादनका हिसाबले पनि सक्षम जिल्ला भएकाले यसलाई प्रथामिकतामा राख्न आवश्यक रहेको बताए ।

पातारासी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोविन्द बहादुर रावतले मार्सीधान उत्पादन वृद्धि गर्न, खेती विस्तार गर्नका लागि वडामा प्रत्येक वर्ष एक पटक रोपाइँ महोत्सव हुँदै आएको जानकारी दिए ।

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार