२०८३ वैशाख १४ , सोमबार

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण



सुर्खेत । नेकपा एमालेले स्थानीय तहमा पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई तीनदिने प्रशिक्षण दिएको छ । गत मंगलवारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एमालेबाट निर्वाचित पार्टीका प्रमुख र उपप्रमुख लगायतका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।

एमाले पार्टी कार्यालयमा भएको प्रशिक्षण कार्यक्रमको पहिलो दिन जनप्रतिनिधिका अनुभव र असल अभ्यास, पार्टी संगठन, संसदीय मोर्चा समन्वय र सहकार्य, पालिका सञ्चालनका अभ्यास र अनुभव लगायतका विषयमा प्रशिक्षण दिईएको थियो भने दोस्रो दिन प्रणालीगत कानूनी प्रबन्ध तथा स्थानीय तहमा न्यायिक अधिकार, सेवा प्रवाह, प्रशासनिक व्यवस्थापन, सुशासन तथा समन्वय, नीति, योजना, कार्यक्रम तर्जुमा तथा यसको कार्यान्वयन र मूल्याङ्कन, आर्थिक श्रोत परिचालन तथा व्यवस्थापन, समृद्धिका निम्ति रुपान्तरित नेतृत्व र व्यवस्थापन, नयाँ सोच, नयाँ काम, निर्णायक राष्ट्रिय पार्टीको निर्माण र जन आधारित कार्यकर्ता पार्टीका आधारहरू लगायतका विषयमामा जानकारी दिईएको थियो ।

प्रशिक्षणको अन्तिम दिन (बिहीबार) विकास तथा समृद्धिका चुनौती र सम्भावनाहरु, समृद्धिका योजनाहरुका विषयमा छलफल गरिएको नेकपा एमाले कर्णाली प्रदेश उपसचिव पदमा खड्काले जानकारी दिइन् । उनकाअनुसार तीन दिनसम्म चलेको सो प्रशिक्षणमा उपमहासचिव प्रदिप ज्ञवालीसहित एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय विकास विभाग प्रमुख देबेन्द्र दाहाल, सोही विभागका सचिव हर्कराज राई, केन्द्रीय स्कुल विभाग सदस्य रामशरण प्याकुरेल, प्राध्यापक डाक्टर तत्व तिम्सिनासहितका नेताहरूले सहजिकरण गरेका थिए ।

विभाग प्रमुख दाहालले प्रशिक्षणले पार्टीको नीति तथा कार्यक्रम कार्यान्वयनमा फलदायी हुने र ‘सुखी नेपाली समृद्ध नेपाल’ को आधार निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे । दाहालले उक्त प्रशिक्षण वार्षिक रूपमा नै आयोजना हुने भन्दै स्थानीय तहमा रहेका एमाले संवद्ध जनप्रतिनिधिहरुलाई कार्य सम्पादनमा दक्षता बढाउदै एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गराउने उद्देश्य रहेको बताए ।

यस्तै, नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णालीका मुख्यमन्त्री यामलाल कँडलले नेपाली काँग्रेस पार्टी बैसाखी बिना उभिनै नसक्ने अवस्थामा पुगेको बताए । उनले एमाले पार्टीले मात्रै समृद्ध नेपालको नारा पुरा गर्ने बताउँदै एमाले पार्टी जनताको रोजाइको प्रमुख पार्टी भएको जिकिर गरे । मुख्यमन्त्री कँडेलले फरक प्रसंगमा कर्णालीमा सडकहरु मृत्यु मार्ग बन्दै गएको भन्दै वर्तमान सरकारले यसमा सुधार ल्याउने प्रतिवद्धता जनाए ।

प्रशिक्षणमा एमालेबाट कर्णाली प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र प्रत्येक जिल्लाबाट एकजना वडा अध्यक्षसहित पार्टीका जिल्ला कमिटी अध्यक्ष र इन्चार्जहरू गरी करीब ७० जनाको सहभागिता रहेको थियो । उपसचिव खड्काले एमाले नेतृत्वमा रहेका पालिकामा सुशासन र विकासलाई नमूनाका रूपमा अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिइएको बताइन् ।

उनले एमालेले पारदर्शिता, जवाफदेहिता र सुशासनमा जोड दिँदै आएकाले पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा एकमत भएको जानकारी दिईन । कार्यक्रममा एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले पार्टी र जनप्रतिनिधिबीचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य प्राप्त गर्न सकिने भन्दै सुखी नेपाली समृद्ध नेपालको सपना पूरा गर्न प्रशिक्षण फलदायी भएको विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार